१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तोडफोड र आगजनीमा रास्वपा कार्यकर्ता

दुई जना निलम्बित, थप दुईमाथि कारबाही तयारी

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संलग्नता पाइएको छ । जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा रास्वपा कास्कीको पोखरा महानगरपालिका–१० का सभापति चन्द्रबहादुर थापा र कास्कीकै मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेल संलग्न रहेको पुष्टि भएको हो । उनीहरूलाई रास्वपाले कारबाही गरेको छ । यही भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि रास्वपा गण्डकी प्रदेशले कास्कीको पोखरा र मादीका ती सभापतिहरूलाई निलम्बन गरेको हो ।

रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले गरेको छानबिनमा थापा र पौडेल तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि निलम्बन गर्ने निर्णय भएको आयोगका गण्डकी प्रमुख योगेन्द्र केसीले जानकारी दिए । कारबाहीसम्बन्धी सोमबार जारी रास्वपा गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थापा र पौडेल विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’ आयोग प्रमुख केसीले पार्टीको आचारसंहिताविपरीत तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएकाले कारबाही गरिएको र अर्को निर्णय नभइन्जेल निलम्बनको कारबाही लागु हुने बताए । यी दुई सभापति तोडफोड र आगजनीमा संलग्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सोही आधारमा उनीहरूमाथि कारबाहीको डन्डा चलाइएको हो ।

रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले थप दुई जनालाई पनि कारबाहीको तयारी गरेको छ । रास्वपा पर्वतका पूर्वसंयोजक सन्तोष रेग्मी र नवलपुरको गैंडाकोट नगरपालिका सभापति विनोद घिमिरेलाई पनि कारबाहीको तयारी भएको रास्वपा स्रोतले जनाएको छ । रेग्मीले राष्ट्रपतिको नेमप्लेट बोकेर नाराबाजी गरेको तथा घिमिरे जलिरहेको भग्नावशेषमा उभिएर नाराबाजीमा उत्रिएको भिडियो सामाजिक सञ्जालमा भेटिएपछि उनीहरूमाथि कारबाही गर्न लागिएको बुझिएको छ । सम्भवतः मंगलबारसम्म उनीहरूमाथि कारबाही भइसक्ने रास्वपा स्रोतको दाबी छ । अनुशासन आयोग प्रमुख केसीले पार्टीको निर्णय र सर्कुलरबिना तथा आचारसंहिताविपरीत तोडफोड र आगजनीमा संलग्न भएका जोकोहीलाई पनि कारबाही गरिने बताए । ‘पार्टीको जोसुकै होस्, निर्णय र निर्देशनबिना आचारसंहिताविपरीत तोडफोड र आगजनीमा उत्रिने, पार्टी अनुशासन तोड्ने काम भएको छ भने तिनीहरूलाई निर्मम कारबाही हुन्छ,’ उनले भने ।

प्रकाशित: ३० भाद्र २०८२ २०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App