४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले असोज १ गते शोक दिवस मनाउने, संविधान दिवसमा शहीदलाई श्रद्धाञ्जली दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकले उक्त निर्णय गर्दै असोज १ गते पार्टीका सबै कार्यालयमा बिदा दिने र राष्ट्रिय तथा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

बैठकले आगामी असोज ३ गते संविधान दिवसको दिनलाई पनि जेन-जी आन्दोलनका शहीदहरूप्रति सम्मान व्यक्त गर्ने दिनको रूपमा मनाउने निर्णय गरेको छ।

सो दिन सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार, बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाहरूको सरसफाइ र पुनर्निर्माणमा सघाउने निर्णय समेत गरेको छ।

यसका लागि पार्टीका सदस्यहरूले कुनै दलीय पहिचान बिना नै स्वयंसेवकको रूपमा खटिएर क्षतिको विवरण संकलन र पुनर्निर्माणमा सहयोग गर्नेछन्।

त्यसैगरी, जेन-जी आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पार्टीको स्वास्थ्य विभागलाई परिचालन गर्ने निर्णय भएको छ। स्वास्थ्य विभागले स्वास्थ्य अभियान सञ्चालन गर्ने, शहीद परिवारसँग भेटघाट गर्ने र उनीहरूलाई आवश्यक सहयोग पुर्‍याउनेछ।

गत भदौ २३ गतेदेखि देशमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै स्थगित गरिएका पार्टीका सम्पूर्ण गतिविधिहरू भने आगामी असोज २ गतेदेखि नियमित रूपमा सुचारु हुने झाले बताए।

साथै, बैठकले पार्टीका सबै विभागहरूलाई आ-आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा समृद्धिको नीति, कार्यक्रम र संकल्प तयार गर्न समेत निर्देशन दिएको छ।

प्रकाशित: ३१ भाद्र २०८२ २१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App