राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने निर्वाचनमा रचनात्मक सहयोग गर्न विघठित प्रतिनिधि सभाका तत्कालिन दललाई आग्रह गरेको छ ।
अन्तरिम सरकार गठनसँगै राजनीतिक संक्रमणको दिशातर्फ धकेलिएकाले यसलाई निकास दिने चुनौतीपूर्ण अवस्थामा मुलक पुगेको उल्लेख गर्दै रास्वपाले यसका लागि सबै दल निर्वाचनमा आउन आवश्यक रहेको बताएको हो ।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सोमबार एउटा भिडियो सन्देश जारी गर्दै लोकतन्त्रमा दलीय भूमिका सधैं सर्वपरी हुने बताए । विषम परिस्थितिमा गठन भएको अन्तरिम सरकारले गराउने निर्वाचनले भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएको परिवर्तनलाई संस्थागत गर्ने दाबी गर्दै अर्यालले जेनजी विद्रोहको म्यान्डेड र जनचाहाना पनि सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, 'विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउने गरी रचनात्मक सहयोग गरिदिन सम्पूर्ण राजनीतिक दल र सरोकारवाला सबैमा अपिल गर्दछौं । घोषित मितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी हो ।'
कार्यवाहक सभापति अर्यालले स्थानीय तहसँग आवश्यक समन्वय गर्दै आगजनी र तोडफोडबाट ध्वस्त भएका सार्वजनिक र साझा सम्पत्तिको पुनर्निर्माणमा जुट्न रास्वपाका सबै सदस्यहरुलाई आग्रह पनि गरेका छन् ।
आफूलाई प्रमाणित गर्न रास्वपाले आगामी निर्वाचनमा राम्रो मत ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले तयारीमा जुट्न सबै कार्यकर्तालाई अपिल गरेका छन् ।
प्रकाशित: ३० भाद्र २०८२ १८:३२ सोमबार





