रास्वपाका सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै खनालले राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय भएको उल्लेख गर्दै उक्त घटनाले आफूलाई दुखी बनाएको बताए।
'राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो। सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दुखद घटनाले मलाई स्तब्ध बनाएको छ,' उनले भने।
खनालले विस्थापन नभइ सुरक्षित व्यवस्थापनको मान्यतालाई प्राथमिकता दिँदै आएको बताए। उनले एउटा बस्तीको व्यवस्थापन गर्ने क्रममा त्यहाँका बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावका विषयमा सबैले अझ बढी संवेदनशीलता अपनाउनु पर्ने आफूले महसुस गरेको भनाइ राखे।
'हामीले सधैं 'विस्थापन होइन, सुरक्षित व्यवस्थापन'को मान्यतालाई प्राथमिकता दिँदै आएको छौं। यद्दपि, एउटा बस्तीको व्यवस्थापन गर्ने क्रममा त्यहाँका बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावका विषयमा हामी सबैले अझ बढी संवेदनशीलता अपनाउनु पर्ने महसुस गरेको छु,' उनले भनेका छन्, 'हामी आज जुन जिम्मेवारीमा छौं, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैं हृदयमा राख्नुपर्छ।'
उनले सरकारकझो दृष्टि 'न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ' भन्ने मान्यतालाई अझ प्रगाढ बनाउँदै लैजानेमा हुनु पर्ने बताए। 'हाम्रा प्रयासहरूले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा हामी सचेत छौं- रहौं। सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा 'न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ' भन्ने मान्यतालाई अझ प्रगाढ बनाउँदै लैजाओस् भन्ने मेरो चाहना छ। सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास पनि छ,' उनले भने।
घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रकाशित: १९ वैशाख २०८३ ११:४० शनिबार





