८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

बलात्कारीलाई ‘अन द स्पट’ कारबाही गर्नुपर्छ : सांसद सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले देशमा बढिरहेका बलात्कार र हत्याका घटनाप्रति सरकार र संसद् गम्भीर बन्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेश्मीका परियार, म्याग्दीकी मीना परियारलगायतका बलात्कार तथा हत्याका घटनाको स्मरण गराउँदै यस्तो बताएका हुन्। 

केही दिनअघि गरिमा चौधरीको पनि बलात्कारपछि हत्या भएको उल्लेख गर्दै उनले यस्ता घटनाको सूची निकै लामो रहेको बताए।

‘यो बलात्कार र हत्याको फेरहिस्त धेरै लामो सुनाउन सकिन्छ। घण्टौँसम्म सुनाउन र लामो छलफल गर्न सकिन्छ,’ उनले भने। सुनारले अब यस्ता घटनामाथि केवल छलफल गर्नेभन्दा पीडितको न्याय र सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने बताए।

‘तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्त जाने हो कि मलामी जाने हो, त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ,’ उनले भने। सांसद सुनारले महिलाले सुरक्षित रूपमा बाँच्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ,’ सुनारले भने।

सुनारले बलात्कार र भ्रष्टाचारमा दोषी प्रमाणित भएकालाई कडा कारबाही गर्ने कानुनी व्यवस्था तत्काल लागू गर्न पनि माग गरे। ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ उनले भने।

प्रकाशित: ८ भाद्र २०८३ १५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App