नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पुनरागमन पूर्ण रूपमा सर्तहीन रहेको र पार्टीले आफ्नो योग्यताअनुसार दिने जुनसुकै जिम्मेवारी स्विकार्न तयार रहेको बताएकी छिन्।
नेकपा (एकीकृत समाजवादी) मा बिताएको चार वर्ष खेर गएको र एमालेमा फर्किएपछि घर आइपुगेको अनुभूति भएको उनले सुनाइन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै नेतृ झाँक्रीले आफ्नो राजनीतिक भविष्य र विगतका निर्णयहरूबारे खुलेर विचार व्यक्त गरिन्।
‘म सर्तहीन रूपमा पार्टीमा फर्किएकी हुँ, मेरो कुनै सर्त छैन,’ उनले भनिन्, ‘आफ्नो योग्यताअनुसार जे काम दिइन्छ, त्यो गर्छु।’
आफू मात्र नभई आफ्नो टिमका अन्य साथीहरू पनि पार्टीमा फर्किएर आ-आफ्नो कार्यक्षेत्रमा काममा लागिसकेको उनले जानकारी दिइन्।
पार्टी विभाजनको कठिन परिस्थितिलाई स्मरण गर्दै उनले भनिन्, ‘त्यो बेला मैले एमाले विभाजन हुनुहुन्न भन्ने अडान लिएकी थिएँ, तर मलाई यति धकेलियो कि म फर्किने ठाउँ नै थिएन।‘
एमालेमा फर्किएपछि घर आइपुगेजस्तो लागेको बताउँदै उनले आफ्नो राजनीतिक भविष्य अब एमालेमै सुरक्षित रहेको संकेत गरिन्।
‘म एकदमै खुसी छु। घर मिस भएको थियो, अब आइपुगियो। एकदमै रमाइलो भएको छ,’ उनले आफ्नो अनुभूति सुनाइन्।
प्रकाशित: २६ कार्तिक २०८२ २०:५८ बुधबार





