राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाविरुद्ध खरो टिप्पणी गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकपछि संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले थापाले नेपाली सेनाका विषयमा गरेको टिप्पणी आपत्तिजनक भएको बताए ।
एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी)को पुरानो भनाइ सापट लिँदै प्रसाईंले नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि गरिएको टिप्पणीलाई दुर्भाग्यपूर्ण भएको बताए ।
उनले भूकम्प, कोरोना काललगायत विभिन्न विपद् र संकटमा नेपाली सेनाले राष्ट्रको खम्बाको रूपमा काम गर्दै आएको उल्लेख गर्दै त्यस्तो संस्थामाथि निकृष्ट आरोप लगाइनु उचित नभएको बताए।
सांसद् प्रसाईंले भने, ‘एमालेका नेता खड्गप्रसाद ओलीले त्यतिवेला भन्नुहुन्थ्यो–मलाई गोरु नांगिदा आश्चर्य मान्दिन’ भनेर म त्यही भनाई सापट लिन चाहन्छु । मेरो चित दुखाई माननीय राम बहादुर थापाले कटाक्ष गर्नेक्रममा मदन भण्डारीको गौरवशाली विरासत बोकेको पार्टीको प्रतिनिधित्व गर्दै नेपाली सेना जस्तो पवित्र संस्थामाथि गलत सोच्ने ठिक हुँदैन । भुकम्पमा होस् या कोरोनाकालमा होस् चाहे जुनसुकै विपतमा या संकटमा राष्ट्रको खम्बा बनेर उभिएको नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि जसरी निकृष्ट आरोप लगाउनुभयो यो असाध्यै दुर्भाग्यपूर्ण छ ।’
प्रकाशित: २२ चैत्र २०८२ १६:२७ आइतबार

