राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सरकारको प्रस्तावित अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने पत्रकारहरूमाथि टिप्पणी गरेका छन्।
उनले निष्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई अध्यादेश रोकिदिन राष्ट्रपतिसमक्ष पुगेर विन्ती गर्नुपर्ने अवस्था नरहेको बताउँदै टिप्पणी गरेका हुन्। खत्रीले वीरेन्द्र जैरु, युवराज कँडेल र अपिल त्रिपाठीलगायत पत्रकारलाई प्रस्तावित अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्छ भन्ने लागेको नहुन सक्ने भनाइ राखे।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्ने अनि राष्ट्रपतिलाई भेटेर अध्यादेश रोकिदिन विन्ती गर्ने? निष्पक्ष पत्रकारिता गर्नेहरूलाई राष्ट्रपति कहाँ पुगेर अध्यादेश रोकिदिन विन्ती गर्नै परेको छैन।’
सरकारले ल्याउन खोजेको अध्यादेश राष्ट्रपतिले रोक्ने अधिकार संविधानको कुन धारामा रहेको छ भन्दै उनले प्रश्न गरेका छन्।
उनले राष्ट्रपतिसमक्ष गरिएको आग्रहलाई पत्रकारिताको चौथो अंगको आवाज नभई सञ्चार क्षेत्रभित्रको विकृतिको अभिव्यक्तिका रूपमा चित्रण गरेका छन्।
‘त्यसैले यो विन्ती देशको चौथो अंगले गरेको होइन, अंगमा लागेको ऐँजेरुले हो। जहाँ शल्यक्रियाको आवश्यकता छ,’ उनले लेखेका छन्।
सञ्चारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउन खोज्दा त्यसलाई निरंकुशताको संज्ञा दिनु र न्यायाधीशको सम्पत्ति छानबिन गर्दा लोकतन्त्र खतरामा परेको तर्क गर्नु विरोधाभासपूर्ण रहेको उनको भनाइ छ।
प्रकाशित: २१ कार्तिक २०८३ १३:२७ शनिबार





