अभिनेता राजेश हमालले नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र कूटनीतिक सन्तुलन कायम राख्नुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनले राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने धारणा राखेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले नेपालको परराष्ट्र नीति व्यक्तिगत विवेक वा राजनीतिक स्वार्थका आधारमा निर्देशित हुन नहुने बताएका छन् । मन्त्रीले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर दिएको अभिव्यक्तिले नेपालको लामो समयदेखिको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जग कमजोर पार्न सक्ने उनको टिप्पणी छ ।
उनले नेपालको सार्वभौमिकताको गरिमा कमजोर पार्ने र नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई उपहासको विषय बनाउने खालका अभिव्यक्ति स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
हमालले नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति तथा जनस्तरको आत्मीयतामा आधारित रहेको बताएका छन् । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने उनको भनाइ छ । तर, त्यस्तो प्रयासमा संलग्न नेपाली प्रतिनिधिले राष्ट्रिय अडानलाई गरिमापूर्ण र सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्, यी त एकअर्काका पूरक जिम्मेवारी हुन्,’ हमालले लेखेका छन्, ‘नेपाल स्वतन्त्र राष्ट्र भएकै कारण आफ्नो पहिचानप्रति विश्वस्त र राष्ट्रिय हितबारे स्पष्ट रहँदै भरपर्दो साझेदार बन्न सक्छ ।’
उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक दृष्टिले यति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई व्यक्तिगत तुष्टीकरणका सङ्केत वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन् ।
हमालले दुई देशबीचको सम्बन्धमा रहेका ऐतिहासिक अनुभव, समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई पनि बिर्सन नहुने उल्लेख गरेका छन् । यस्ता संवेदनशील विषयमा सरकारले स्पष्ट र एकरूप धारणा राख्दै स्थापित कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादबाट अघि बढ्नुपर्ने उनको सुझाव छ ।
उनका अनुसार छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ बनाउनु आवश्यक भए पनि त्यसका नाममा नेपालको राष्ट्रिय स्वार्थ र स्वाभिमान कमजोर पार्न मिल्दैन । राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरिने कूटनीतिक व्यवहारले मात्रै नेपाललाई आत्मविश्वासी र विश्वसनीय साझेदारका रूपमा स्थापित गर्न सक्ने हमालको धारणा छ ।
प्रकाशित: ९ कार्तिक २०८३ १८:२८ सोमबार




-600x400.jpg)
