प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफू कमजोर हुँदा मात्र थारु समुदायको मुद्दा उठाउने गरेको आरोपको प्रतिवाद गरेका छन्।
उनले आफू कहिलै कमजोर नभएको र भविष्यमा पनि नहुने दाबी गर्दै आफू एक मेहनती र कर्मशील योद्धा भएको बताए।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘रेशम चौधरी न हिजो कमजोर थियो, न आज कमजोर छ, न भोलि कमजोर हुनेछ। मेहनती, परिश्रमी, कर्मशील व्यक्तिलाई के-को डर ?’
आफ्नो संघर्षका दिनहरू स्मरण गर्दै उनले भृकुटीमण्डपमा सामानको पोका बोकेर बेचेको र बल्खुमा सिमेन्टको बोरा लोड-अनलोड गरेर पनि पढेको सुनाए। उनले भने, ‘म भोलि मजदुरी गरेर खान सक्छु।’
पार्टीलाई ‘परिवारको दोकान’ बनाएको भन्ने प्रश्नमा चौधरीले व्यङ्ग्यात्मक जवाफ दिए। ‘परिवारभित्रै पार्टीको दोकान भएन ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘भयो। यो तपाईंले सोध्दा भयो। तर लड्ने योद्धाको अनुभव हेर्नुस्। साढे आठ वर्ष जेल र नेलका साथमा जेलमा बसें।’
उनले प्रश्नकर्तालाई आफ्नो संघर्ष र त्यागको अनुभव हेर्न चुनौती दिए। साढे आठ वर्षको जेल जीवन र नेलसहितको संघर्षलाई बिर्सेर यस्ता प्रश्न गर्नु सान्दर्भिक नभएको उनको भनाइ थियो।
उनले आफू जेलबाट छुटेपछि पनि तीन वर्षसम्म खाई नखाई, सुती नसुती नागरिकको बीचमा रहेको बताए।
त्यस्तै, रवि लामिछानेले चुनाव लड्न नपाए चुनाव हुँदैन भन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा उनले यो विषय रास्वपाको आन्तरिक मामिला भएको बताए।
उनले भने, ‘म त्यो कुरा किन भन्ने ? उहाँको पार्टी छ। म उहाँको दलको सदस्य होइन। उहाँ निर्दोष हुनुहुन्छ भने न्याय पाउनुपर्छ, दोषी हुनुहुन्छ भने कानुनले गर्ला।’
चौधरीले हालैको जेन-जी आन्दोलनका युवाहरूलाई पनि राजनीतिकरण गरेर जेल हालिएको भन्दै आफ्नो मुद्दा र उनीहरूको मुद्दामा समानता रहेको बताए।
उनले जेन-जी आन्दोलनका युवाहरूलाई पहिले एक हुन र आफ्नो आवाजलाई एकीकृत गर्न सुझाव दिए।
प्रकाशित: १४ कार्तिक २०८२ १९:२१ शुक्रबार





