७ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रमुख आचार्यको प्रश्न : भारत भ्रमणमा दिइएको अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको सन्देश के हो ?

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाएका छन्।

आचार्यले नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको भन्ने अभिव्यक्तिको आशयमाथि प्रश्न गरेका हुन्।

नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसङ्घको सदस्य रहँदै आएको र नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान तथा राष्ट्रिय हितमा आधारित रहेको उल्लेख गर्दै उनले यी आधारभूत तथ्यबारे अर्थमन्त्री वाग्ले अनभिज्ञ रहेको आफूलाई नलागेको बताएका छन्।

आचार्यले नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित नभए पनि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अङ्ग भएको बताएका छन्। भारतसँगको सम्बन्ध सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउन नहुने उनको भनाइ छ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित रहेको उल्लेख गर्दै आचार्यले दुवै देशबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास, समानता र साझा हितका आधारमा अघि बढ्नुपर्ने बताएका छन्।

छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता भए पनि त्यसका लागि राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्ने अवस्था उचित नहुने उनको टिप्पणी छ। सम्बन्ध सुदृढ बनाउने नाममा अतिरिक्त चाकडी आवश्यक नरहेको पनि उनले बताए।

आचार्यले कूटनीति भनेको अर्को देशको आलोचना वा प्रशंसा गर्नु मात्र नभई आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नु भएको बताएका छन्। भारतसँग व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका विषयमा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।

मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छाएर समर्पण गर्ने धारणा दुवै अतिवादी सोच भएको आचार्यको भनाइ छ।

'मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर "तुम सरणम" गर्ने  धारणा दुवै अतिवादी सोच हुन्,' उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्।

तेस्रो मुलुकमा पुगेर आफ्नै देशको राष्ट्रवादी दृष्टिकोणलाई पुरानो वा असान्दर्भिक ठहर्‍याउने अभिव्यक्तिले कस्तो सन्देश दिन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने उनले बताएका छन्।

नेपाल–भारत सम्बन्ध कुनै एक नेताको दृष्टिकोण वा क्षणिक राजनीतिक अभिव्यक्तिले मात्र निर्धारण नहुने उल्लेख गर्दै आचार्यले अनावश्यक चाकडी र उत्तेजना दुवैबाट मुक्त भएर पारस्परिक सम्मान, स्पष्ट राष्ट्रिय अडान तथा व्यावहारिक सहकार्यमा आधारित कूटनीति अवलम्बन गर्नु नेपालको हितमा हुने बताएका छन्।

प्रकाशित: ७ कार्तिक २०८३ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App