२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको प्रश्न : ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपाको धारणा के हो?

नेपाल-भारत सीमा र लिपुलेकका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा दिएको अभिव्यक्ति अहिले चर्चामा छ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको’ अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै उपसभापति शर्माले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै देशको प्रधानमन्त्रीले संवेदनशील कूटनीतिक विषयमा बोल्नुअघि सोचेर बोल्नुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ। संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ।’

वर्तमान सरकारमा सहभागी प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले अगाडि थपेका छन्, ‘“सरकार बालेन” को मत प्रधान कि “व्यक्ति बालेन” को मत मुख्य? रास्वपाको धारणा के हो? सीमा मिचेका हौँ कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौँ??’

आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत दुवैतर्फबाट सीमा मिचिएको दाबी गरेका थिए।

उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ। त्यसलाई चैँ दुइटै देशले साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ।’

प्रधानमन्त्रीको यो कूटनीतिक अभिव्यक्तिलाई लिएर चौतर्फी प्रश्न उठ्न थालेपछि परराष्ट्र मन्त्रालयले तत्कालै स्पष्टीकरण जारी गरेको छ।

मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै उक्त भनाइ दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको स्पष्ट पारेको छ। प्राविधिक रूपमा दुवैतर्फका नागरिकबाट सीमा क्षेत्रमा हुने खेतीपाती वा भोगाधिकारको विषयलाई प्रधानमन्त्रीले संसद्‍मा राखेको परराष्ट्रको दाबी छ।

प्रकाशित: १८ जेष्ठ २०८३ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App