२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सार्वजनिक लेखा समिति हुर्मत लिने थलो होइन : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय तथा सार्वजनिक व्यक्तिको ‘हुर्मत लिने थलो’ नभएको बताएकी छन्।

सार्वजनिक लेखा समितिको पछिल्लो बैठकमा भएको छलफलप्रति असन्तुष्टि जनाउँदै झाँक्रीले संविधान र विधिको मर्यादाभित्र रहेर काम गर्न सबै पक्षलाई आग्रह गरिन्।

'संसदको सार्वजनिक लेखा समिति सरकारी निकाय र सार्वजनिक व्यक्तिको हुर्मत लिने थलो होइन। याद रहोस, संविधान र विधिको मर्यादामा हामी सबै बस्नुपर्छ,' उनले भनिन्।  

झाँक्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक लेखा समितिले आफूले सम्हाल्न नसक्ने र निष्कर्षमा पुर्‍याउन नसक्ने विषयमा केवल सार्वजनिक खपतका लागि हात हाल्न नहुने बताएकी हुन्। उनका अनुसार कुनै व्यक्ति वा संगठनको नेतृत्वमाथि ‘यति खायौ, उति खायौ’ जस्ता आरोपसहित आएका उजुरीलाई पर्याप्त आधार र तयारीबिना समितिको छलफलको एजेण्डा बनाउनु उचित हुँदैन।

‘भ्रष्टाचारको अनुसन्धान गर्ने अर्कै संवैधानिक निकाय छ,’ झाँक्रीले भनेकी छन्, ‘खाएको हो–होइन भन्ने विषयमा तत्काल आन्तरिक लेखापरीक्षण हुन्छ। त्यसको काम महालेखा नियन्त्रकको कार्यालयले गर्छ। फाइनल अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय हो।’

महालेखा परीक्षकको प्रतिवेदन हेर्ने निकाय संसद भएको उल्लेख गर्दै उनले सार्वजनिक लेखा समिति संसदको सानो रूप भएकाले विषयलाई निर्धारित प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। ‘प्रोसेसमा जाने कि यस्तै खपतका काम गर्ने?’ उनले प्रश्न गरेकी छन्।

झाँक्रीले समितिमा हुने छलफलमा संसदीय आचारसंहिता, भाषा र मर्यादालाई समेत ख्याल गर्नुपर्ने बताएकी छन्। सार्वजनिक संस्था र व्यक्तिको अनावश्यक रूपमा हुर्मत लिन नहुने उनको भनाइ छ।

उनले समितिले उजुरीमाथि प्रारम्भिक छनोट (स्क्रिनिङ) गरेर मात्र छलफलका लागि अघि बढाउनुपर्ने सुझाव दिँदै सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएकी छन्।

‘फेरि पनि भन्छु, हिजो जे भयो पटक्कै राम्रो भएन,’ झाँक्रीले भनेकी छन्।

प्रकाशित: २८ श्रावण २०८३ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App