२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सत्ता फेरबदलकाे गाेलचक्करमा कोशी सरकार : बजेटअघि नेतृत्व फेर्नुपर्ने अडान

कोशी प्रदेशमा सरकार परिवर्तनका लागि दलहरूबिच छलफल सुरु भएको छ। पूर्वसहमतिअनुसार कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ। तर दलहरूबिच छलफल भए पनि हालसम्म सरकारको नेतृत्व परिवर्तनका विषयमा ठोस सहमति हुन बाँकी रहेको नेताहरू बताउँछन्। कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएकै बेला आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति भएको थियो।

पूर्वसहमतिकै विषयमा पनि यतिबेला दुई दलका नेताहरूबिच मतान्तर देखिएको छ। असार मसान्तसम्म अहिलेकै नेतृत्वले सरकार सञ्चालन गर्न पाउनुपर्ने नेकपा एमालेका नेताहरूको दाबी छ। अर्कातर्फ कांग्रेसका नेताहरूले भने परिस्थिति बदलिएका कारण बजेट आउनुअघि नै सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने अडान राख्दै आएका छन् तर कोशीका नेताहरूले मात्रै छलफल गरेर सरकार परिवर्तनको विषय टुंगो नलाग्ने भएका कारण दुवै पार्टीका नेताहरू केन्द्रीय नेतृत्वको निर्णय कुरेर बसेका छन्।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्कीका अनुसार कांग्रेसले बजेट आउनुअगाडि नै सरकारको नेतृत्व परिवर्तन गरेर नयाँ बजेट ल्याइनुपर्ने अडान राखेको बताए। कार्कीले सरकार परिवर्तनको विषय कोशी प्रदेशका नेताहरूको हातमा नभएका कारण केन्द्रीय नेतृत्वको निर्णयलाई पर्खेर बसेको जानकारी दिए। ‘हामीले बजेट आउनुअगाडि नै प्रदेश सरकारको नेतृत्व परिवर्तन गरेर नयाँ सरकारलाई बजेट ल्याउने जिम्मा दिनुपर्छ भन्ने अडान राखेका छौं तर यस विषयमा पार्टीको केन्द्रीय नेतृत्वले हालसम्म कुनै ठोस निर्णय गरेको छैन। सत्ता साझेदार दल एमालेसँग पनि कुनै सहमति भइसकेको छैन।’

कार्कीले सरकार परिवर्तनका विषयमा छलफल सुरु भए पनि हालसम्म कुनै निष्कर्षमा दलहरू पुगिसकेका छैनन्।

यता एमाले कोशी प्रदेका प्रमुख सचेतक रमेशकुमार बस्नेतले पनि सरकारको नेतृत्व परिवर्तनका विषयमा दलहरूबिच छलफल सुरु भएको जनाएका छन्। उनले छलफल सुरु भए पनि हालसम्म कुनै निर्णय नभएको बताए। पूर्वसहमतिअनुसार अझै अहिलेको नेतृत्वको समय असार मसान्तसम्म भएका कारण बजेटपछि मात्रै सरकारको नेतृत्व फेरिने दाबी गरे। ‘सत्ता साझेदार पार्टीहरूबिच भएको पूर्वसहमतिअनुसार अहिलेको नेतृत्वको अवधि असार मसान्त सम्म भएका कारण तत्कालै सरकार परिवर्तन हुने अवस्था छैन,’ बस्नेतले भने।

उनले कोशी प्रदेशमा कांग्रेसले फेरिएको परिस्थिति देखाउँदै बजेट ल्याउनुअघि नै सरकारको नेतृत्व पविर्तन गरी आफूहरूको नेतृत्वले नै बजेट ल्याउनुपर्ने अडान राख्दै आए पनि सत्ता साझेदार पार्टीहरूको केन्द्रीय नेतृत्वले हालसम्म कुनै पनि निर्णय नगरेका कारण सरकार परिवर्तनको विषयमा हाल केही पनि प्रगति भएको छैन। उनले शुक्रबार नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएकाले उक्त बैठकले केही निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।

तीन पार्टी सम्मिलित सरकारको चर्चा हल्ला मात्रै

कोशी प्रदेशमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त सरकार बनाउने विषयमा पनि यतिबेला चर्चा चलिरहेको छ तर कोशीका तीन वटै पार्टीका नेताहरूले तीन पार्टीको संयुक्त सरकारको विषय हल्ला मात्रै भएको दाबी गरेका छन्। नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा जाने विषयमा नेकपाले हालसम्म कुनै पनि किसिमको छलफल नगरेको दाबी गरेका छन्। उनले नेकपा तत्कालै सरकारमा जाने सोचमा समेत नरहेको स्पष्ट पारे। ‘हामी तत्काल सरकारमा जाने सोचमा छैनौं,’ उनले भने, ‘सरकारमा जाने विषयमा कसैसँग छलफल गरेका पनि छैनौं।’

कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता कार्कीले पनि नेकपासँग सरकार गठनका विषयमा छलफल नभएको स्पष्ट पारे। उनले भने, ‘केन्द्रीय तहमा कुरा भएको भए थाहा भएन तर प्रदेश स्तरमा नेकपासँग सरकार गठनका विषयमा छलफल भएको छैन।’

यस्तै एमालेका प्रमुख सचेतक बस्नेतले पनि नेकपासँग सरकार गठनका विषयमा छलफल नभएको स्पष्ट पारेका छन्। उनले संविधान रक्षाका लागि दलहरूबिच सहकार्यको विषयमा छलफलहरू भए पनि सरकार गठनका विषयमा भने नेकपासँग हालसम्म कुनै छलफल नभएको बताए।

उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा दलहरू मिल्ने विषयमा सैद्धान्तिक सहमति भए पनि सरकार बनाउने विषयमा कांग्रेसबाहेक अन्य कुनै पनि दलहरूसँग छलफल भएको छैन।’

प्रदेशका नेताहरूले सत्ता सहकार्यका विषयमा छलफल नभएको बताइरहे पनि कोशी प्रदेशको लोकसेवा आयोगका सदस्यहरू नियुक्त गर्दा कांग्रेस र नेकपालाई एकएक सदस्य दिएर सत्ता सहकार्यको सुरुवात तीन दलले गरिसकेको स्रोतको दाबी छ तर लोकसेवा आयोगको सदस्यको विषय संवैधानिक नियुक्तिको विषय भएकाले यसलाई सत्ता सहकार्यको सुरुआतसँग जोड्न नहुने नेकपाका नेता आङ्वो बताउँछन्।

प्रकाशित: ८ जेष्ठ २०८३ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App