३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउनु हाम्रो साझा लक्ष्य : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमा प्रयोग, महसुलको व्यवस्थापन र विभागीय समन्वय कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन्।

आज नगरकोटमा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा बैठक तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले खानेपानी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

‘खानेपानीसम्बन्धी समस्या समाधान गर्ने सन्दर्भमा अझै पनि गम्भीर चुनौती छन्। त्यसैले सबै तहका निकाय र कर्मचारीले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,’ मन्त्री यादवले भने, ‘खानेपानीका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमा प्रयोग गर्नुका साथै महसुलको व्यवस्थापन र विभागीय समन्वय जरुरी छ।’

खानेपानी सेवामा देखिएका समस्या सुधार गर्न सबै पक्षको साझा उत्तरदायित्व र सहकार्य हुनुपर्नेमा जोड दिँदै मन्त्री यादवले भने, ‘हाम्रो साझा लक्ष्य भनेको सबै नेपालीलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउनु हो। यो लक्ष्य प्राप्तिका लागि सरकारमात्र होइन, स्थानीय तह, उपभोक्ता समिति, विकास साझेदार र समुदायको सक्रिय सहकार्य अपरिहार्य छ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनले खानेपानीका आयोजनामा विनियोजित बजेट कार्यान्वयन गर्न नसक्दा समस्या हुने गरेकाले खानेपानी आयोजनालाई सफल पार्न राष्ट्रिय योजना आयोग सधैं सकारात्मक रहेको बताए। उनले भने, ‘खानेपानी हामी सबैका लागि अनिवार्य आवश्यकता हो, यसको सुनिश्चितता हुनु जरुरी छ। हामीसँग स्रोत र रकमको समस्या छैन तर बजेट कार्यान्वयन गर्न नसक्दा समस्या हुने गरेको छ।’

मन्त्रालयका सचिव एवं इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानीका आयोजना समयमा कसरी सम्पन्न गर्न सकिन्छ त्यो विषयमा केन्द्रित भएर सबै कर्मचारीले कार्यसम्पादन गर्नुपर्ने धारणा राखिन्। ‘खानेपानीका क्षेत्रमा प्रशस्त बजेट विनियोजन भएको छ। आयोजना समयमा कसरी सम्पन्न गर्ने त्यो विषयमा अहिलेदेखि नै सबैले छलफल गरी योजनाबद्ध रूपमा अगाडि बढ्न आवश्यक छ।’

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक एवं इन्जिनियर रामकुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभागले ९०.१० प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताउँदै चालु आवमा थप प्रगति गर्नेगरी काम सुरु भएको जानकारी दिए।

मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले आव २०८१/८२ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधानका बारेमा तयार गरिएको कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. टण्डन, मन्त्रालयका सचिव बज्राचार्य, सहसचिव एवं इन्जिनियर मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख अशोक पौडेल, मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दास, भ्याली बोर्डका प्रमुख सञ्जीव विक्रम राणा, पिआइडीका प्रमुख लक्ष्मी उपाध्याय, खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, एकीकृत खानेपानी आयोजना प्रमुख सुरत बम, जलवायु खानेपानी आयोजना प्रमुख टीका चौधरी, सहलगानी खानेपानीका उज्वल प्रजापतिलगायत कर्मचारीको सहभागिता थियो। रासस

प्रकाशित: ६ भाद्र २०८२ २०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App