गण्डकी प्रदेशमा समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ गण्डकीको १८ निर्वाचन क्षेत्रमध्ये १५ सिट जितेर पहिलो बनेको रास्वपा समानुपातिकतर्फ पनि ५ लाख २५ हजार ६ सय ३५ मतसहित पहिलो पार्टी बनेको हो। यो अघिल्लो चुनाव २०७९ को भन्दा झण्डै तेब्बर मत अर्थात ३ लाख ४८ हजार ६ सय १० मत बढी हो। २०७९ को चुनावमा रास्वपाले गण्डकीमा १ लाख ७७ हजार २५ मत प्राप्त गर्दै तेस्रो दल बनेको थियो।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ। प्रत्यक्षतर्फ एक सिट पनि नजितेको एमालेले समानुपातिकतमा यस वर्ष १ लाख ५२ हजार ५ सय ८७ मत प्राप्त गरेको छ। यो अघिल्लो चुनाव २०७९ को भन्दा १ लाख ७२ हजार २ सय ९५ मत कम हो। अघिल्लो चुनावमा एमालेले ३ लाख २४ हजार ८ सय ८२ मत प्राप्त गरेको थियो।
अघिल्लो चुनावमा गण्डकीमा सर्वाधिक मत ल्याउने पार्टीको दोस्रो स्थानमा रहेको कांग्रेस यस वर्ष मत घटे पनि यथास्थानमा छ। गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये २ हिमाली जिल्लाको २ सिट मात्र जितेको कांग्रेसले अहिलेको निर्वाचनमा २ लाख ७ हजार ३ सय ८७ मत प्राप्त गरेको छ। यो अघिल्लो निर्वाचनको तुलनामा १ लाख ५ हजार ३ सय ९३ मत कम हो। अघिल्लो निर्वाचन २०७९ मा कांग्रेसले गण्डकीमा ३ लाख १२ हजार ७ सय २० मत प्राप्त गरेको थियो।
नेपाली कम्युनिष्ट पार्टीले अघिल्लो निर्वाचनको तुलनामा झण्डै आधा मत गुमाएर चौथो स्थानमा यथावत छ। प्रत्यक्षतर्फ एक सिट पनि नजितेर निल बनेको नेकपाले अहिलेको निर्वाचनमा केवल ५७ हजार ८ सय ७६ मत ल्याएको छ। यो अघिल्लो चुनावको भन्दा ५० हजार ५ सय ९१ मत कम हो। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ २ सिट जितेको तत्कालीन नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १ लाख ८ हजार ४ सय ६७ मत प्राप्त गरेको थियो।
राप्रपाले पनि अहिलेको निर्वाचनमा मत घटाएर पाचौं पार्टी बनेको छ। प्रत्यक्षतर्फ निल रहेको राप्रपाले २३ हजार ५ सय ५६ मत प्राप्त गरेको छ। यो अघिल्लो निर्वाचनको भन्दा १५ हजार २ सय ७८ मत कम हो। अघिल्लो निर्वाचनमा राप्रपाले ३८ हजार ८ सय ३४ मत ल्याएको थियो।
राष्ट्रिय जनमोर्चा पनि मत गुमाएर ७ हजार ७ सय ७० मतमा सिमित भएको छ। अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मत पाएको जनमोर्चाले यस वर्ष २ हजार २ सय बढी मत गुमाएको छ।
यस वर्षको पहिलो चुनावबाटै राष्ट्रिय पार्टीमा दरिएको श्रम संस्कृति पार्टीले गण्डकीबाट १८ हजार ९ सय ९५ मत प्राप्त गरेको छ।
समानुपातिक निर्वाचनका लागि गण्डकीमा ५७ दल प्रतिष्पर्धामा थिए।
प्रकाशित: २७ फाल्गुन २०८२ १८:१९ बुधबार





