१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

स्थानीय चुनावको टिकटमा ‘घण्टी बोक्ने’ पुराना कार्यकर्तालाई प्राथमिकता दिन्छाैं: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टी स्थापनाकालदेखि खटिएका पुराना कार्यकर्ताहरूलाई उच्च प्राथमिकता दिइने बताएका छन्।

पार्टी निर्माणका क्रममा दिनरात खटेर मुद्दा खेपेका, गाली र कुटाइ खाएका साथीहरूको योगदानको उच्च मूल्याङ्कन गरिने उनले बताएका हुन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा ‘आरएसभीपी एप’ मार्फत ‘क्यान्डिडेट क्लब’ को औपचारिक सुरुवात गर्दै सभापति लामिछानेले हालका लागि गाउँपालिका तहका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका लागि मात्र आवेदन खुला गरिएको जानकारी दिए।

नगरपालिका तथा महानगरपालिकाको आवेदन भने अहिले सुरु नगरिएको उनले बताए।

पार्टीमा नयाँ व्यक्ति आएर टिकट खोसिदिने हो कि भन्ने कार्यकर्ताको संशय चिर्दै लामिछानेले भने, ‘हिजो घण्टी बोकेर हिँड्दा मुद्दा खेपेको, पिटाइ खाएको, गाली खाएको र बेइज्जती सहेको हामीले बिर्सेका छैनौं। पार्टीमा सुरुदेखि खटिएका साथीहरूको उम्मेदवारी सम्भावना र अङ्क भार (वेटेज) अरूको भन्दा स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले कसैले निराश हुनुपर्दैन।’

पुराना कार्यकर्तालाई निश्चित अङ्क भारको प्राथमिकता दिइए पनि क्षमतावान् नयाँ व्यक्तिका लागि पार्टीको ढोका बन्द नगरिने उनले सुनाए। पुराना साथीहरूले पाउने थप अङ्क भारभन्दा पनि बढी नम्बर ल्याएर उत्कृष्ट ठहरिने नयाँ प्रतिभालाई रास्वपाले ‘ल्याटरल इन्ट्री’ मार्फत स्वागत गर्ने उनको भनाइ थियो।

क्यान्डिडेट क्लबबाट छनोट भएका आकांक्षीहरूले ‘लिडरसिप एकेडेमी’ को प्रक्रिया पार गर्नैपर्ने बताउँदै लामिछानेले यसलाई सिक्ने र पुराना गलत मान्यता बिर्सिने (लर्निङ र अन–लर्निङ) विश्वविद्यालयका रूपमा व्याख्या गरे।

जनप्रतिनिधि बन्नुअघि सम्बन्धित तहको कानुन, अधिकार र जिम्मेवारीबारे आधारभूत ज्ञान हासिल गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको उनले बताए।

विगतमा आफूभन्दा अब्बल व्यक्ति आउला कि भनेर कतिपय योग्य मानिसलाई पार्टी प्रवेशमै रोकेको र अर्कातर्फ समायोजनका नाममा आएकाहरूले तत्काल पद पाउँदा पुराना कार्यकर्ता दुःखी बनेको कमजोरी स्मरण गर्दै उनले क्यान्डिडेट क्लब र एकेडेमीले यी दुवै समस्यालाई स्थायी रूपमा समाधान गर्ने दाबी गरे।

प्रकाशित: १ भाद्र २०८३ १९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App