प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ शुक्रबार काठमाडौं छाडेर पोखरा पुगेका छन्। सार्वजनिक कार्यक्रम वा औपचारिक सरकारी भ्रमणका लागि नभई निजी भ्रमणका क्रममा प्रधानमन्त्री शाह पोखरा पुगेका हुन्। उनी आफैं गाडीको स्टेयरिङ समातेर, पछाडि सवारीसाधनको लामालस्करसहित पोखरातर्फ लागेका थिए।
शुक्रबारलाई ‘चिल्ड’ गर्ने दिनका रूपमा लिने बालेन्द्रको यो शैली उनका समर्थकका लागि सामान्य र स्वाभाविक लाग्न सक्छ। तर प्रधानमन्त्रीजस्तो उच्च संवैधानिक पदमा रहेका व्यक्तिको निजी भ्रमण पनि स्वभावतः सार्वजनिक चासोको विषय बन्छ।
त्यसैले प्रश्न उठ्नु स्वाभाविक पनि हो । अहिले उठेको प्रश्न चाहिँ प्रधानमन्त्रीको यो ‘गुड फ्राइडे’ यात्रा कति निजी हो र यसको सार्वजनिक प्रभाव कति छ ? भन्ने हो ।
शुक्रबार काठमाडौं छाडेका प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै पोखरा पुगेका हुन्। उनको पहिलो गन्तव्य माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज बनेको छ। पोखराबाट करिब १५ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टका तीनवटा ब्लकका १२ कोठा प्रधानमन्त्री र उनको भ्रमण टोलीका लागि बुक गरिएको बताइएको छ। उनी एक दिन त्यहाँ रहनेछन्।
प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निजी भ्रमण भए पनि प्रधानमन्त्रीको सुरक्षाका लागि राज्य संयन्त्र परिचालन हुने भएकाले भ्रमणको ‘निजी’ चरित्र कति निजी रहन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ। प्रधानमन्त्री जहाँ पुग्छन्, त्यहाँ सुरक्षा, प्रशासन र व्यवस्थापनको पाटो जोडिन्छ नै।
तर पोखरा उनको अन्तिम गन्तव्य भने होइन। प्रधानमन्त्री शाहको यात्रा मुस्ताङतर्फ अघि बढ्नेछ। मुस्ताङमा उनको बसाइ र कार्यक्रमबारे भने अहिलेसम्म औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। यही अस्पष्टताले उनको भ्रमणलाई अझ चासोको विषय बनाएको छ।
बालेन्द्रको राजनीतिक शैलीलाई हेर्ने हो भने उनी परम्परागत नेताहरूभन्दा फरक देखिन रुचाउँछन्। औपचारिकताको भारी बोकेर हिँड्नुभन्दा आफैं गाडी चलाउने, सामान्य जीवनशैली प्रदर्शन गर्ने र आफ्नै शैलीमा सार्वजनिक गतिविधि गर्ने उनको छवि बनेको छ। प्रधानमन्त्री बनेपछि पनि उनले यही ‘अलग’ शैलीलाई निरन्तरता दिन खोजिरहेका छन्। त्यसैले शुक्रबारको पोखरा यात्रा पनि केवल एउटा निजी भ्रमण नभई उनको सार्वजनिक छविको अर्को प्रदर्शनका रूपमा हेरिन सक्छ।
आफैं सवारी चलाएर पोखरा पुग्नुले व्यक्तिगत रूपमा स्वतन्त्र र सामान्य जीवनशैली देखाउने सन्देश दिन सक्छ। तर प्रधानमन्त्रीको हैसियतमा त्यसको अर्को पाटो पनि छ। पछाडि रहेका सवारीसाधनको लस्कर, सुरक्षा टोली र स्थानीय प्रशासनको सक्रियताले भ्रमणलाई सामान्य निजी यात्राभन्दा धेरै ठूलो बनाइदिन्छ। प्रधानमन्त्री सामान्य नागरिकजस्तो यात्रा गर्न खोजे पनि उनको पदले त्यसलाई पूर्ण रूपमा सामान्य रहन दिँदैन।
अझ मुस्ताङको यात्रा आफैंमा अर्थपूर्ण हुन सक्छ। हिमाली पर्यटनको प्रमुख गन्तव्य मुस्ताङमा प्रधानमन्त्रीको उपस्थिति पर्यटन प्रवर्द्धन, स्थानीय अवस्थाको अवलोकन वा व्यक्तिगत विश्राममध्ये केका लागि हो भन्ने प्रस्ट छैन। औपचारिक कार्यक्रम सार्वजनिक नगरिएकाले अहिले नै कुनै निष्कर्ष निकाल्न सकिँदैन। तर प्रधानमन्त्रीको भ्रमणले स्थानीय पर्यटन, सडक पूर्वाधार, पर्यटकीय सम्भावना र हिमाली क्षेत्रका जनजीवनतर्फ पनि ध्यान खिच्न सक्छ।
बालेन्द्रको पोखरा बसाइ पनि चासोको विषय बनेको छ। विगतदेखि नै शुक्रबारलाई केही आराम र निजी समयका लागि प्रयोग गर्ने उनको शैली चर्चामा रहँदै आएको छ। यसपटक पोखराको प्राकृतिक वातावरण, त्यसपछि मुस्ताङको हिमाली भूगोल, यो यात्राले प्रधानमन्त्रीलाई केही दिन राजनीतिक तनावबाट टाढा रहने अवसर दिन सक्छ। तर प्रधानमन्त्रीको ‘चिल’ समय पनि सामाजिक सञ्जालको युगमा पूर्णतः निजी रहन कठिन हुन्छ। उनका हरेक गतिविधि तस्बिर, भिडियो र टिप्पणीका रूपमा सार्वजनिक बहसको हिस्सा बन्नेछन् ।
प्रधानमन्त्रीको निजी जीवन र विश्रामको अधिकारलाई पनि सम्मान गर्नुपर्छ। पदमा पुगेपछि हरेक क्षण औपचारिक कार्यक्रममा बिताउनुपर्छ भन्ने छैन। निरन्तर काम गर्ने सार्वजनिक पदाधिकारीलाई व्यक्तिगत समय चाहिन्छ। तर त्यससँगै सार्वजनिक पदमा बस्ने व्यक्तिले निजी भ्रमणमा राज्यस्रोत, सुरक्षा संयन्त्र र सार्वजनिक प्रभावको प्रयोग कसरी गर्छ भन्ने विषयमा पारदर्शिता पनि अपेक्षित हुन्छ।
बालेन्द्रको भ्रमणलाई लिएर अर्को राजनीतिक कोण पनि छ। प्रधानमन्त्रीको लोकप्रियता ठूलो मात्रामा उनको ‘अरूभन्दा फरक’ छविमा आधारित छ। आफैं गाडी चलाउने, औपचारिक राजनीतिक शैलीलाई चुनौती दिने र व्यक्तिगत स्वतन्त्रता प्रदर्शन गर्ने उनका गतिविधिले समर्थकबीच लोकप्रियता बढाउन सक्छन्। तर प्रधानमन्त्रीको कार्यसम्पादनको मूल्यांकन अन्ततः उनको जीवनशैलीबाट होइन, शासनको परिणामबाट हुनेछ।
पोखराको एक दिनको विश्राम होस् वा मुस्ताङको निजी भ्रमण, यसले प्रधानमन्त्रीलाई केही समय आराम देला। तर काठमाडौं फर्किएपछि उनले सरकारले के गर्यो ? जनताका अपेक्षा कति पूरा भए ? विकास, सुशासन, रोजगारी, पूर्वाधार र सेवा प्रवाहमा के परिवर्तन आयो ? भन्ने प्रश्नको सामना गर्नुपर्नेछ ।
अहिलेका लागि पोखरामा एक रातको विश्राम, त्यसपछि मुस्ताङतर्फको यात्रा र त्यहाँको गोप्यजस्तै राखिएको कार्यक्रमले बालेन्द्रको यो शुक्रबारलाई रहस्यमय बनाएको छ। यो केवल प्रधानमन्त्रीको ‘गुड फ्राइडे’ हो, कि मुस्ताङबाट फर्किएपछि कुनै नयाँ राजनीतिक ‘सरप्राइज’ पनि आउँदैछ ?
प्रकाशित: ५ भाद्र २०८३ १६:३८ शुक्रबार


-600x400.jpg)

-600x400.jpg)
