प्रधानमन्त्री सुशीला कार्कीले देशको राजनीतिक प्रणालीप्रति असन्तुष्ट नयाँ पुस्ता (जेन-जी) लाई दलहरुसँग रिसाएर मात्र नबसी आफ्नै राजनीतिक दल बनाएर चुनावमा जान आग्रह गरेकी छिन्।
स्थानीय सरकारका प्रतिनिधिहरुसँगको छलफलमा उनले युवाहरुलाई राजनीतिमा सक्रिय हुन र शान्तिपूर्ण माध्यमबाट आफ्ना सुधारका एजेन्डा लागू गर्न प्रोत्साहन गरेकी हुन्।
सोमबार बालुवाटारमा गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले पुराना राजनीतिक दल र नेतृत्वको कार्यशैलीप्रति युवाहरुमा वितृष्णा बढ्नु स्वाभाविक भएको बताइन्।
‘जेन-जी छोराछोरी पनि हाम्रै हुन्। पुरानाले बढी ओगटिदिए, मनोमानी गरे, त्यसले विद्रोह जन्मियो,’ उनले भनिन्।
यस विद्रोहलाई सकारात्मक दिशा दिन उनले सुझाउँदै थपिन्, ‘अब दलसँग रिसाएर हुँदैन। तपाईंहरु पनि दल बनाएर जानुहोस् भनेर जेन-जीहरुलाई भनेको छु।’
स्थानीय तहका प्रतिनिधिहरुसँगको छलफल भने आगामी निर्वाचन, तीन तहका सरकारबीचको समन्वय र स्थानीय तहले भोगिरहेका समस्यामा केन्द्रित थियो। छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा पनि उपस्थित थिए।
स्थानीय जनप्रतिनिधिहरुले सरकारले हालै जारी गरेको मितव्ययिता मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजनाहरु अनिश्चित बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले स्थानीय सरकारका चासोहरुलाई सम्बोधन गर्ने र निर्वाचन सम्पन्न गर्न उनीहरुसँग पूर्ण समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, ‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईंहरुसँग समन्वय र सहकार्य नगरी हुन्न। चिन्ता नगर्नुहोस्, आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस्।’
प्रधानमन्त्रीले दलीय व्यवस्थाभित्रैबाट सुधारको खोजी गर्नुपर्ने धारणा राखिन्। ‘माथि दलका कुरा हुन्छन्। तल स्थानीय तहमा विकासका कुरा हुन्छन्। यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,‘ उनले भनिन्, ‘यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ। मुलुक हाम्रै हो, हामीले नै सुधारेर जानुपर्छ।’
आफ्ना एजेन्डा लिएर शान्तिपूर्ण रूपमा चुनावमा जाने र सुधारका कार्यक्रम लागू गर्ने दिशामा अघि बढ्न उनले सबैलाई आग्रह गर्दै राजनीतिमा संस्कार र अनुशासन अनिवार्य रहेको पनि बताइन्।
प्रकाशित: २४ कार्तिक २०८२ १८:३३ सोमबार





