२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत छ, जनतासँग माफी माग्नुपर्छ : एमाले

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबारे नेपाली जनतासँग माफि माग्नुपर्ने बताएको छ।  

सोमबार एक विज्ञप्ती जारी गर्दै महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको प्रमाणविपरीत अभिव्यक्ति अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताए।

विज्ञप्तीमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्ता अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सङ्घीय संसदमा व्यक्त गर्नुभएको धारणाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ। राष्ट्रको कार्यकारी प्रमुखको जिम्मेवार पदमा आसीन व्यक्तिबाट ऐतिहासिक यथार्थ, तथ्य र अकाट्य प्रमाणविपरीत अभिव्यक्ति आउनु अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य हो।’

नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषय कुनै दल, सरकार वा व्यक्तिको मात्र सरोकारको विषय नभई सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय सङ्कल्प रहेको एमालेको भनाइ छ।

‘यस्तो संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ। यस प्रकारको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तीमा भनिएको छ।

‘नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासहित विभिन्न ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै प्रस्ट छ। यस्ता विवादहरूको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्नेमा, आफ्नो कमजोरी लुकाउन ‘नेपालले पनि सीमा मिचेको छ’ भन्नु राष्ट्रिय हितमाथिको ठूलो कुठाराघात हो’, एमालेले भनेको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App