प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसमा दलको नेता फेर्न १२ जना (सांसद) नपुग्ने हिसाब आफूलाई सुनाइएको बताएका छन्। मङ्गलबार (आज) काठमाडौंमा आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो हिसाब बताएका हुन्।
‘सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ। आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो- नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्याएर ढाल्ने भए भनेर सुनाएको थियो। यो कथा कति सुन्नु, कान टट्याइसक्यो। यो कथा हो। यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ तर, संशोधन केही हुँदैन। यो सरकार स्थिर सरकार हो,’ उनले भने।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार स्थिर सरकार भएकाले ढुक्कले काम गर्न सकिनेसमेत बताए। ‘तपाईंहरू ढुक्कले काम गर्न सक्नुहुन्छ, पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो। अहिले त्यो समस्या छैन। अहिलेको सरकार स्थिर छ। सरकार बनावटको हिसाबले दुईवटा सबैभन्दा लामो इतिहास बोकेका ठूला पार्टीहरू मिलेर खास परिस्थितिमा खास उद्देश्यका लागि बनेको हो। तपाईंहरु ढुक्कले काम गर्नुस्,’ उनले भने।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार नफेरिने बताए। फेरिए पनि प्रधानमन्त्री मात्रै फेरिने बताए। 'अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ। अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन। मन्त्री त एउटै पार्टीको सरकार भएपनि मन्त्री त फेरिराख्छ,' उनले भनेका छन्।
प्रकाशित: २७ श्रावण २०८२ १९:२९ मंगलबार





