प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको छ भने पत्नी सबिना काफ्लेको नाममा १९० तोला सुन रहेको छ।
अचल सम्पत्तितर्फ प्रधानमन्त्री शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर-९ मा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको छ। त्यसैगरी, बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा रहेको १ करोड ४६ लाख रुपैयाँको स्रोत सामाजिक सञ्जाललाई देखाएका छन्। फाराममा आम्दानीको स्रोतका रूपमा फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्स उल्लेख छ।
प्रधानमन्त्री शाहले आफ्नो सामाजिक सञ्जालका फलोअरलाई समेत अन्य सम्पत्तिको रूपमा उल्लेख गरेका छन्। उनको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र ट्विटरमा ५ लाख १० हजार फलोअर रहेको उल्लेख छ।
प्रकाशित: २९ चैत्र २०८२ १९:३६ आइतबार





