३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्राधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बोधगयामा भेटवार्ता हुने

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बोधगयामा भेटवार्ता हुने भएको छ। विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्पराको क्रम भंग गर्दै भारत सरकारले प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि यस पटक गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयालाई चयन गरेको छ।  

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन। प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भदौ ३१ मा भारतको दुई दिने भ्रमण गर्दै छन्। यो भ्रमण तीन दिन पनि हुन सक्छ। त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने भएको हो।

ओलीको भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आइतबार नेपाल आउँदै छन्। उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने बताइएको छ।  

भारतीय सैन्य विमानबाट आइतबार अपराह्न काठमाडौं ओर्लिएर मिश्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव अमृत राईसहितका उच्चपदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम छ।

भेटघाट सकेर सोमबार उनी फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।  

प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डल नेपाली सेनाको विमानमा काठमाडौंबाट बोधगया जाने छन्। नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नालन्दा विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ। बोधगयामा द्विपक्षीय वार्तापछि प्रधानमन्त्री ओलीले नालन्दा विश्वविद्यालयको अवलोकन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको लागि बोधगयामा बास बस्न हयात प्यालेसको पूरै होटल दुई दिनको लागि विदेश मन्त्रालय भारत सरकारको नाममा बुक गरिएको छ।

प्रकाशित: १ भाद्र २०८२ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App