प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग छलफल गरेकी छन् ।
सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेन-जी प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए ।
सरकारका अधिकारीहरुले जेन-जीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रुप दिने क्रममै रहेको बताए । प्रधानमन्त्री कार्कीले भने यो विषय चाँडो टुंग्याउन निर्देशन दिएकी छन्।
उनले निर्देशनात्मक रुपमा भनिन्, ‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्दैन।’
प्रकाशित: १२ मंसिर २०८२ १९:३८ शुक्रबार





