प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट क्षतिग्रस्त भएको महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गरेकी छन्।
घाइते नागरिकहरूलाई अस्पतालमा भेटेपछि शनिबार दिउँसो उनले क्षतिको स्थलगत जानकारी लिन र सुरक्षाकर्मीको अवस्था बुझ्न महाराजगञ्ज पुगेकी हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आगजनीले जलेका भवन, ध्वस्त भएका सवारीसाधन र तोडफोडबाट भएको अन्य भौतिक क्षतिको गम्भीरतापूर्वक अवलोकन गरिन्।
उनले वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूसँग भेट गरी घटनाको विवरण लिनुका साथै यस्तो कठिन परिस्थितिमा पनि धैर्य नगुमाई कर्तव्यमा जुट्न आग्रह गर्दै उनीहरूको मनोबल उच्च राख्न निर्देशन दिइन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भएको जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूलाई निशाना बनाएका थिए। महाराजगञ्ज र कोटेश्वर प्रहरी चौकीमा सबैभन्दा बढी क्षति पुगेको थियो। यहाँ आगजनीमा परी तीन प्रहरीको मृत्यु समेत भएको थियो।
यसअघि शनिबार बिहानै प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर आन्दोलनमा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
तस्बिरहरु:












प्रकाशित: २८ भाद्र २०८२ २१:०८ शनिबार





