प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको बताउँदै हालको मौज्दात र आउने क्रममा रहेको मलको विस्तृत विवरण सार्वजनिक गरे।
कृषि मन्त्रालयबाट प्राप्त जानकारी उद्धृत गर्दै उनले हाल कृषि सामग्री कम्पनीसँग २९,१११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३,७१२ मेट्रिक टन गरी कुल ४२,८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मल मौज्दात रहेको बताए।
यसका साथै, थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेकाले किसानलाई अभाव नहुने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन किसानहरूलाई अनुरोध गरेका छन्। उनले लेखेका छन् ‘खेतबारी हराभरा बनाऔं !’
प्रकाशित: २५ श्रावण २०८२ २०:१९ आइतबार





