प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि नेपालमा बन्ने सरकार कि नेकपा (एमाले) ले बनाउने कि नेपाली कांग्रेसले बनाउने र त्यो पनि सम्भव नभए दुई दल मिलेर बनाउने ठोकुवा गरेका छन्।
उनले साना दलहरू मिलेर ‘टालाटुली बाटुलीको’ सरकार बनाउन नसक्ने जिकिर गरे।
मंगलबार भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई ठूला र ऐतिहासिक पार्टी मिलेर बनेकाले पूर्ण रूपमा स्थिर रहेको बताए।
उनले सरकार परिवर्तन हुने हल्ला सुनेर कान टट्टाइसकेको भन्दै यस्ता कथाहरूमा विश्वास नगर्न आग्रह गरे।
‘सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ भन्ने कथा कति सुन्नु? कान टट्टाइसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार स्थिर छ। ढुक्कले काम गर्नुहोस्।’
उनले वर्तमान सरकारको कार्यकाल अझै लगभग अढाइ वर्ष बाँकी रहेकोले कुनै पनि किसिमको अस्थिरताको कल्पना नगर्नसमेत आग्रह गरे।
‘दुइटा सबभन्दा हिस्ट्री भएका, सबभन्दा ठूला पार्टीहरु मिलेर एउटा खास परिस्थितिमा, खास उद्देश्य र संकल्पका साथ यो सरकार बनेको छ। यो स्थिर छ, त्यसकारण तपाईंहरू ढुक्कले काम गर्नुहोस्।
‘अब आउने सरकारबारे म तपाईंहरूलाई अहिले नै भन्दिन्छु। कि एमालेले बनाउँछ। एमालेले बनाएन भने कांग्रेसले बनाउँछ। कांग्रेसले बनाएन भने एमाले र कांग्रेसले बनाउँछन्। यो तीनटा बाहेक अरु कुनै विकल्प छैन। अरु के-के, को-को भेला गरेर, टालाटुली बटुली कति राम्री पुतली भनेजस्तो, टालाटुली बटुलेर पुतली बनाउने वाला हामी छैनौं।’
प्रकाशित: २७ श्रावण २०८२ २०:३२ मंगलबार





