नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आज यहाँ आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताएका हुन्।
‘समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ’, सभापति थापाले भने।
आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो। लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए।
उनले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताए। उनले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताए। कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको उनको भनाइ थियो।
उनले युवालाई देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए। सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्याउन काठमाडौं क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे।
‘मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिन, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भएँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,’ उनले भने।
सभापति थापाले मधेसलाई काठमाडौंसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको बताए।
कांग्रेस काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौं क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गरे। रासस
प्रकाशित: १७ माघ २०८२ १३:२१ शनिबार





