राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै मुलुकलाई सुरक्षित अवतरण गराएको दाबी गरेका छन्।
कतारको दोहामा मंगलबार सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले ल्याएको उभारका बीच आफूले संविधानको संरक्षकको भूमिका निभाएको दाबी गरे। मुलुकलाई सफल अवतरण गराउँदै फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेको उनको भनाइ थियो।
विश्वका कतिपय मुलुकमा सुशासनका पक्षमा युवा पुस्ताले ल्याएको उभारजस्तै नेपालमा पनि गत भदौ २३ र २४ मा जेनजीका नाममा प्रदर्शन भएको बताउँदै राष्ट्रपति पौडेलले फागुन २१ गतेको निर्वाचनले देशलाई राजनीतिक निकास दिँदै सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने विश्वास व्यक्त गरे।
नेपाल इतिहासको महत्वपूर्ण मोडमा रहेको र जनताका अपेक्षाहरू पूरा गर्न विश्वव्यापीस्तरमा ठोस र समन्वयात्मक कार्य गर्ने यो महत्वपूर्ण समय भएको उनको भनाइ थियो ।
प्रकाशित: १८ कार्तिक २०८२ १८:३७ मंगलबार





