२२ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

विपद्मा ज्यान गुमाएकाप्रति राष्ट्रपतिको श्रद्धाञ्जली, बेपत्ताको खोजीमा विशेष ध्यान दिने प्रतिबद्धता

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोलगायतका प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजीलाई सरकारले विशेष प्राथमिकता दिने बताएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्का कारण पीडित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्नेमा जोड दिए। विपद्को यस कठिन घडीमा पीडित नागरिकले राज्य आफ्ना साथमा रहेको अनुभूति गर्न सक्ने गरी प्रभावकारी रूपमा काम गर्न उनले सरकारलाई आग्रह गरे।

उनले विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। साथै बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई तीव्रता दिई उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी गराउनुपर्नेमा जोड दिए।

विपद्को प्रभाव गम्भीर रहेकाले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग जुटाउन सरकारले विदेशी राष्ट्रहरूसँग समेत सहयोग मागेको राष्ट्रपति पौडेलले जानकारी दिए। उपलब्ध सबै स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रभावित नागरिकसम्म तत्काल राहत पुर्‍याउनुपर्ने उनको भनाइ छ।

राष्ट्रपतिले विपद्का कारण विस्थापित तथा प्रभावित परिवारलाई सुरक्षित बासस्थान, खाद्यान्न, स्वास्थ्योपचारलगायत आधारभूत सेवा उपलब्ध गराउन राज्यका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

उनले विपद्को घडीमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षलाई आह्वान गरे।

राष्ट्रपति पौडेलले पीडामा रहेका नागरिकले आफू एक्लो नभएको र राज्य आफ्ना साथमा रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए। विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन राज्यका सबै संयन्त्रलाई थप सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २२ भाद्र २०८३ १५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App