१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

संसद्मा सरकारविरुद्ध विपक्षी मोर्चा कडा बनाउने तयारी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाका प्रमुख विपक्षी दलहरूले संसद्मा थप सशक्त रूपमा प्रस्तुत हुने तयारी गरेका छन्। आइतबार भएको विपक्षी दलका प्रमुख सचेतकहरूको छलफलले जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको कडा प्रतिरोध गर्ने निष्कर्ष निकालेको हो।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरू सहभागी भएका थिए। एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारले संसदीय मूल्य–मान्यता विपरीत विपक्षीको आवाज दबाउने र पेलेर अघि बढ्ने प्रयास गरेको भन्दै त्यसविरुद्ध एकीकृत रूपमा उभिने सहमति भएको नागरिकलाई जानकारी दिए।

सरकार सडकदेखि सदनसम्म र गरिबका झुपडीसम्म पेलेरै जाने नीति लिएर अघि बढेकाले सरकारलाई जिम्मेवार बनाउन विपक्षी दल एक ठाउँमा हुनुपर्ने अवस्था आएको महरले बताए।

एमाले प्रमुख सचेतक महरले सरकारको गैरलोकतान्त्रिक चरित्र, विपक्षीको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति तथा सभामुखको भूमिकाबारे पनि गम्भीर छलफल भएको बताए । उनले संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको संरक्षणका लागि विपक्षी दलबीच सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति भएको बताए।

प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार दबाब दिँदै आएका छन्।

प्रकाशित: १० जेष्ठ २०८३ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App