प्रतिनधिसभाको पहिलो बैठक सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनभित्रैको बहुउद्देश्यीय हलमा बस्ने भएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले तत्कालका लागि उक्त हलमा प्रतिनिधिसभाको बैठक बस्नेगरी साजसजावट भइरहेको जनाएको छ।
विभागका अनुसार हलमा कुर्सी, माइक र साउन्ड सिस्टम मिलाउने काम भइरहेको छ। प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ। हलमा थप २५ वटा अतिरिक्त कुर्सी राखिने भएको छ। पोडियम पनि तयार गरिएको छ। पोडियममा सभामुखका लागि छुट्टै कुर्सी राखिएको छ।
विभागले बैठक हलको भित्र र बाहिर गमलासहितका फूल राख्ने भएको छ। हलमा जाने बाटो र आसपास क्षेत्रमा पिच गर्ने काम पनि भइरहेको छ। विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार शनिबारसम्म कुर्सी राख्ने, साउन्ड सिस्टम मिलाउने, बाटो पिच गर्ने, गमला राख्नेलगायतका काम सम्पन्न गरिनेछ। ‘त्यसपछि संसद् बैठक बोलाउन हल तयार हुनेछ’, उनले भने। उनका अनुसार नयाँ संसद् भवनको काम ९४ प्रतिशत पूरा भइसकेको छ।
नयाँ संसद् भवनभित्र चारवटा ठुला हल छन्। एउटा हल प्रतिनिधिसभा बैठक, अर्को हल राष्ट्रियसभा बैठक र अन्य दुईवटा हल बहुउद्देश्यीय प्रयोजनका लागि बनाइएका हुन्। ‘तत्कालका लागि संसद्का केही बैठक बहुउद्देश्यीय हलमा बस्ने छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकका लागि बनाइएका हल तयार भएपछि तिनै प्रयोग गरिनेछन्’, बोहराले भने, ‘प्रतिनिधिसभा बैठकका लागि तयार गरिएको हल भुइँ तलामा छ। बहुउद्देश्स्यीय प्रयोजनका लागि तयार गरिएका हल पहिलो तलामा छन्।’
उनका अनुसार बहुउद्देश्स्यीय हल नजिकै दुईवटा कोठा तयार भएका छन्। ती दुई कोठा भिआइपीहरूका लागि प्रयोगमा ल्याइने छन्। नयाँ संसद् भवन परिसरभित्र १२ वटा भवन (ब्लक) तयार भइरहेका छन्। ६ महिनाभित्रै सबै भवनको निर्माण पूरा हुने विभागको दाबी छ।
विभागले नयाँ संसद् भवनभित्रै प्रतिनिधिसभाको पहिलो बैठक बसाउन एउटा हल तयार हुनैलागेको जानकारी मुख्य सचिव र संसद् सचिवालयलाई गराएको छ। विभागका महानिर्देशक बोहराले सोमबार नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याल र संसद् सचिवालयका महासचिव पदम पाण्डेलाई भेटेरै यस्तो जानकारी गराएका हुन्। ‘प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनुअघि हल तयार हुन्छ कि हुन्न भन्ने उहाँहरूको चासो र जिज्ञासा थियो। पहिलो बैठकका लागि एउटा मुख्य हल तयार गर्छौं भनेर आश्वस्त पारेका छौं’, बोहराले भने, ‘यस विषयमा बुझ्न उहाँहरू संसद् भवनमै आउनुभएको थियो।’
यस विषयमा सहरी विकासमन्त्री कुमार इङनामले पनि चासो राखेर दिनदिनै प्रगति विववरण बुझ्ने गरेको बोहराले बताए। प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न भइसकेकाले अब बैठकका लागि हल तयार गर्नुपर्ने बाध्यतामा सरकार छ। मन्त्रालयले यसको जिम्मेवारी भवन निर्माण विभागलाई दिएको छ। बोहराका अनुसार रातभरि काम गरेर बैठकका लागि एउटा मुख्य हल तयार पार्ने काम भइरहेको छ। ‘अहिले कामदारले रातभरि काम गरिरहेका छन्। हामीले दैनिक अनुगमन गरिरहेका छौं। संसद्को बैठक बोलाउनुअघि कुनै पनि अवस्थामा एउटा हल तयार गर्न हामी बाध्य छौं’, उनले भने।
संसद् बैठक चैत पहिलो साताभित्र बस्ने सम्भावना छ। सरकारले झन्डै ५ अर्ब रुपैयाँ लगानीमा सिंहदरबार परिसरभित्र संसद् भवन निर्माण गरिरहेको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ ०६:५४ बिहीबार





