राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र पारेको छ।
आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने महाधिवेशनका लागि पार्टीले सांगठनिक परिमार्जन र तल्लो तहका अधिवेशनहरूलाई गति दिएको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म देशभरका चार हजार ३६३ वटा वडा, ६०९ वटा पालिका र ६४ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
रास्वपाले सातमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चारवटा प्रदेशको अधिवेशन पूर्ण रूपमा सम्पन्न गरिसकेको छ। बाँकी प्रदेशहरूमध्ये कर्णाली र सुदूरपश्चिममा अधिवेशनको प्रक्रिया हाल चालु अवस्थामा छ भने मधेस प्रदेशको अधिवेशन हाललाई स्थगन गरिएको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीले बाँकी रहेका क्षेत्रहरूमा पनि संगठन विस्तार र नेतृत्व चयनको कामलाई अगाडि बढाइरहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार देशका नौ जिल्लामा अझै अधिवेशन हुन सकेको छैन। अधिवेशन हुन नसकेका जिल्लामा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्। यीबाहेक सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट गरी चार जिल्लामा भने अधिवेशनको प्रक्रिया सुरु भएर पनि विविध कारणले स्थगन भएको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्।
प्रकाशित: २ असार २०८३ ११:०७ मंगलबार


-600x400.jpg)


