नेकपा एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा फरक–फरक प्रतिवेदन तयार भइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि पूर्वराष्ट्रपति विद्या भण्डारीका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत तयार गर्दै छन् ।
उनीहरूले संविधान उद्धृत गर्दै फरक मत लेखिरहेका छन् । एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गते काठमाडौंमा सम्पन्न हुँदै छ । विधान महाधिवेशनमा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष अनुकूल हुने गरी विधान मस्यौदा तयार पारिएको छ । त्यही मस्यौदाको विपक्षमा फरक मत राख्न लागिएको हो । साथै राजनीतिक प्रतिवेदनमा पनि फरक मत राखिने बताइएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नै नेतृत्व गर्ने गरी फरक मत प्रस्तुत हुने एक नेताले बताए । उनका अनुसार एमालेभित्रै लोकतन्त्र खोज्ने गरी फरक मत प्रस्तुत हुन लागेका हो । नेपालको संविधानले कुनै पनि व्यक्तिलाई पार्टीमा काम गर्न निषेध नगरेको विषय त्यसमा उल्लेख हुनेछ । संविधानले राष्ट्रपति नियुक्तिको मापदण्ड, नियुक्ति भएपछि हुने व्यवस्थाका तीन अवस्थाबाहेक संविधानले राष्ट्रपतिको विषयलाई कुनै बन्देज नलगाएको पनि उल्लेख गरिने बताइएको छ । संविधानले राष्ट्रपतिलाई कुनै पार्टीको सदस्य नहुनू नभनेको र संविधानले तीन विषयको मात्र चर्चा गरेको विषयमा पनि पूर्वराष्ट्रपतिका तर्फबाट आवश्यक विषयवस्तु राखिनेछन् ।
निर्वाचित पद, मनोनीत पद र नियुक्त पदचाहिँ राष्ट्रपति भएपछि स्वतः जान्छ । निर्वाचित भनेको सांसद वा संसद्को सदस्य जितेको पद हो । कुनै जनप्रतिनिधिले वडाध्यक्ष नै जिते पनि राष्ट्रपति बनेपछि त्यो पद स्वतः जान्छ । सरकारले मनोनीत गरेको पद पनि राष्ट्रपति बनेपछि स्वतः जान्छ । यसबाहेकको कुनै व्यवस्था छैन । त्यसकारण अहिले पार्टीमा आउँदा कुनै आपत्ति छैन, संविधान लोकतान्त्रिक भएर पनि पार्टी लोकतान्त्रिक हुन नसकेकोमा एमालेभित्र वैचारिक मत राख्न लागिएको बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता नवीकरणमै रोक लगाइएपछि केन्द्रीय कमिटीको बैठकमा नोट अफ डिसेन्ट लेखे पनि त्यसलाई अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको थिएन, जुन विषयप्रति उपाध्यक्ष ज्ञवाली र पाण्डेले असहमति प्रकट गर्दै आएका छन् । उनीहरूले यो विषयलाई प्राथमिकताका साथ विधान महाधिवेशनमा उठाउन लागेका हुन् । ‘एमालेको नेतृत्वले संविधान मान्दिनँ भन्नुपर्यो । होइन भने संविधानअनुसार चल्नुपर्यो । पार्टीको विधान संविधानअनुसार हुनुपर्छ,’ एक नेताले भने । स्वयं उपाध्यक्ष पाण्डे पनि सोमबार एउटा अन्तरक्रियामा संविधानमा नभएको व्यवस्थामा कुनै पार्टीले विधान बनाएर रोक्ने काम गर्न नहुने बताएका छन् । उनले फरक मत पनि संविधानमा भएको व्यवस्था लागु गर्न ल्याइन लागेको संकेत गरेका छन् ।
‘संविधानले जे भनेको छ त्यही गर्ने हो । संविधानले नभनेको विषयबाहेक कुनै पार्टीमा लाग वा नलाग भनेर संविधानले भनेको छैन । यसरी संविधानले नै नभनेको विषय कुनै पार्टीले विधान बनाएर रोक्न मिल्छ ? मिल्दैन,’ उपाध्यक्ष पाण्डेले सोमबार भनेका छन् । उनले कानुनी व्यवस्था नै नभएको कुरा लोकतन्त्रमा लोकतान्त्रिक मूल्य–मान्यता मानेको पार्टीले गर्न नमिल्ने बताए । ‘कि त यस्ता विषय संविधानले रोक्नुपर्थ्यो कुनै कानुनले रोक्नुपर्थ्यो । त्यस्तो भएको छैन । त्यसैले लोकतान्त्रिक व्यवस्थाविरोधी कुनै काम कुनै लोकतान्त्रिक पद्धति अपनाएको पार्टीले गर्न मिल्दैन,’ उनले भनेका थिए ।
उपाध्यक्ष पाण्डेले आगामी विधान महाधिवेशनमा विमतिका विषयहरू उठ्ने बताएका छन् । ‘यस विषयमा सहमति र विमतिका कुरा आउन सक्छन् । विमतिका कुरालाई सम्बोधन गरियो भने विमति नै नहुने भयो, सकिहाल्यो । विमतिलाई राखेर जाने भन्ने हुँदा विमति लेख्न दिने भन्ने विषयमा छलफल गरेका छौं । आउने विधान महाधिवेशनमा पनि यो विषय हामी उठाउनेछौं,’ उनले भने । सोमबारको अन्तर्क्रियामा पार्टीभित्र भिन्न मत राख्न पाइने बताएका थिए । ‘पार्टीभित्र भिन्न मत पनि राख्न पाइन्छ ।
भिन्न मत छ भने भिन्न मत राख्न दिने वा छलफलका माध्यमबाट समेटिएका कुरालाई मान्ने भन्ने विषयमा छलफल भएको छ, राखेका कुराहरूमा भिन्न मतलाई पनि म स्वीकार गर्छु भनेर सम्बन्धित नेताले मानेको अवस्था छ । यहाँ तीन जना नेताहरूले प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यो पार्टीले मानेको छ, पार्टी कमिटीले मानेको छ, विधान महाधिवेशनमा पनि मानिनेछ । फरक मत भए त्यसलाई सच्याउने वा नसच्चिए फरक मत लेख्न दिने व्यवस्था गरिएको छ,’ उनले भने ।
अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि पूर्वराष्ट्रपति विद्या भण्डारीका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत तयार गर्दै छन् ।
विधान महाधिवेशनमा एमालेका तीन नेताको तीन प्रतिवेदन औपचारिक रूपमा प्रस्तुत हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन ल्याउने तथा उपाध्यक्ष विष्णु पौडेलले विधानबारे लेख्ने भन्ने समझदारी भइसकेको छ । त्यसका अतिरिक्त पूर्वराष्ट्रपति भण्डारीका तर्फबाट फरक मत राख्न लागिएको हो ।
तर संस्थापन पक्षले भने फरक मत पेस गर्न नदिने तयारी गरेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकसमेत रोकिएको अवस्थामा सचिवालय बैठक राखेर विधान महाधिवेशनतिर लाग्ने एमालेको तयारी छ । एमाले अध्यक्ष ओली भदौ १८ गते राति मात्रै स्वदेश आउने भएकाले १९ गते दिउँसो वा २० गते बिहान सचिवालय बैठक बस्नेछ । ‘सकेसम्म १९ गते सचिवालय बैठक बस्नेछ,’ एमाले स्रोतले भन्यो ।
महाधिवेशन स्थलमा चार डिजिटल ढोका
दोस्रो विधान महाधिवेशन केही दिन बाँकी रहेका बेला तयारी लगभग पूरा भएको छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी लगभग पूरा भएको केन्द्रीय कार्यालयले जनाएको हो । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।
‘दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । तीमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छाडेको र कसैलाई पार्टीले कारबाही गरेको हुँदा त्यस्ता सबैलाई सूचीबाट हटाइएको छ,’ गौतमले भने, ‘रिक्त भएका ठाउँमा नयाँ प्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दसौं महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उहाँहरू आयोजकको हैसियतमा मात्र रहनुहुन्छ ।’
महाधिवेशनमा दुई हजार ३४ जना प्रतिनिधिसहित दुई हजार तीन सय ४९ जना सहभागी हुँदै छन् । केन्द्रीय कार्यलयले आइतबार नै सबै प्रतिनिधिहरूलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको छ । केही प्रतिनिधिहरूको मोबाइल नम्बर अद्यावधिक नभएकाले सम्बन्धित जिल्ला कमिटीहरूलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यालयले निर्देशन गरेको छ । पार्टीले विधान महाधिवेशनको मूल नाराका रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरेको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान छपाइको काम भइरहेको छ । यस्तै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा छ । प्रतिनिधि परिचयपत्र छपाइ भइसकेको छ । एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ ।
प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइनेछ । परिचयपत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा. अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा छिर्न प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचयपत्रमा रहेको क्युआर कोड स्क्यान गरेर मात्र प्रतिनिधिले प्रवेश गर्न पाउनेछन् । महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ ।
विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरूले सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार निर्माण र हँसिया हथौडा र सूर्य चिह्न अंकित झन्डा राख्ने तयारी गरेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झन्डा राख्ने काम गर्दै छ । यसैगरी भक्तपुर जिल्ला कमिटीले जडीबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित ब्यानर तथा चोकचोकमा झन्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्नेछन् ।
प्रकाशित: १७ भाद्र २०८२ ०६:५१ मंगलबार





