१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई धम्की दिने रास्वपाका प्रकाश पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरेर दैलेखका एक वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन् ।

दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत दबाब, धम्की र अमर्यादित व्यवहार गरेको आरोपमा २२ वर्षीय खड्कालाई शनिबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिइएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने खड्कालाई दिउँसो करिब साढे २ बजे पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याएका थिए । उक्त फोन संवादको अडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । अडियोमा राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने तथा अपमानजनक शब्द प्रयोग गरिएको आरोप छ ।

घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो नाम दुरुपयोग गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो । कार्यालयले दोषीमाथि कडा कारबाही गर्न निर्देशनसमेत दिएको बताइएको छ ।

खड्का राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ । उनले सुर्खेतबाट पार्टी सदस्यता लिएको जनाइएको छ । घटनापछि रास्वपा दैलेखले समेत उनीमाथि कारबाही गर्न सिफारिस गरेको बताइएको छ ।

प्रकाशित: २ जेष्ठ २०८३ १६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App