कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यवहारिक शिक्षालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन्।
ब्राईट भिजन ल कलेज विराटनगरले आयोजना गरेको नमूना अदालत प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले व्यवहारिक शिक्षालाई राज्यले नै प्रोत्साहन गर्ने नीति बनाउन आवश्यक रहेको बताएका हुन्।
कार्कीले प्रदेश सरकारले सरकारी र निजी क्षेत्र भनेर शैक्षिक संस्थाहरूलाई फरक व्यवहार नगर्ने स्पष्ट पारे। उनले कानुन संकायमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको र अवसरहरू पनि थपिंदै गएको धारणा राखेका थिए। गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करण शनिबार सम्पन्न भएको हो। फाइनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्बन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए। निर्णायकमा उच्च अदालत विराटनगरका न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली रहेका थिए।
प्रतियोगिताको उपाधि बीभीएलसी ८१७ समूहले जितेको छ। सो समूहका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम रहेका छन्। उपाधि जित्ने समूहले नगद १२ हजार सहित ट्रफी प्राप्त गरेको छ। बीभीएलसी ८०८ समूह दोस्रो भएको छ। दोस्रो हुने समूहमा उन्नती पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउत रहेका थिए। दोस्रो हुने समूहले नगद ७ हजार र ट्रफी जितेको छ। प्रतियोगितामा आमोद वस्ती, सञ्जय घिमिरे, कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेस्रो भएको छ। तेस्रो हुने समूहले नगद ४ हजार र ट्रफी जितेको छ। प्रतियोगितामा उत्कृष्ट बहसकर्ता प्रतिष्ठा पोखरेललाई नगद ४ हजार र ट्रफी प्रदान गरिएको छ।
दोस्रो संस्करणको मुटकोर्ट प्रतियोगितामा २५ समूहमा एक सय विद्यार्थी सहभागी भएका थिए। कलेजले गत वर्षदेखि मुटकोर्ट प्रतियोगिता सुरु गरेको हो। ब्राईट भिजन कलेजका प्रमुख चुडामणि आचार्यले नमूना अदालत प्रतियोगिताले अदालतको अनुशासन कायम गर्न मद्दत गर्ने बताएका छन्। प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक सोच र विश्लेषणात्मक सोचको विकास गर्ने उनको भनाइ छ।
प्रकाशित: ६ भाद्र २०८३ २१:१८ शनिबार





_-600x400.jpg)