नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति जनअसन्तुष्टि बढ्दै गएको दाबी गर्दै प्रधानमन्त्री बालेन शाहलाई प्रतिपक्षसँग खुला संवाद गर्न आग्रह गरेका छन्। साथै, उनले रास्वपालाई दुईतिहाइ बहुमतको दम्भ नपाल्न पनि चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा प्रचण्डले लोकतान्त्रिक अभ्यासमा संवाद अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्रीले अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग छलफल गर्नुपर्ने बताए। प्रतिपक्षसँग संवाद गर्दा प्रधानमन्त्रीको कद सानो नहुने, बरु समस्याको निकास खोज्न सहयोग पुग्ने उनको भनाइ थियो।
उनले नेपालमा जटिल राजनीतिक अवस्थालाई समाधान गर्ने अनुभव भएका नेता, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा लडेका व्यक्तित्व तथा लोकतन्त्रका लागि दशकौँ जेल–नेल र यातना भोगेका नेताहरूको लामो पंक्ति रहेको उल्लेख गर्दै उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको हो भन्ने प्रश्न गरे।
प्रचण्डले आफूलाई एकपटक बोलाएर अनुभवबारे सोध्नसमेत प्रधानमन्त्रीलाई आग्रह गरे। उनले भने, ‘मलाई एकचोटि बोलाएर ‘तपाईंले पनि भ्रष्टाचारविरुद्ध लड्छु भनेर सुरु गर्नुभएको थियो, सफल हुन किन सक्नुभएन?’ भनेर सोधेको भए पनि हुन्थ्यो।’
उनले प्रधानमन्त्रीलाई संवादबाट टाढा राखेको कारण अहंकार हो कि भन्ने आशंका व्यक्त गर्दै, “म पर्याप्त छु, अब मलाई कसैको आवश्यकता छैन भन्ने सोच हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,” भन्दै सरकारलाई संवाद र सहकार्यको बाटो रोज्न आग्रह गरे।
प्रकाशित: १४ श्रावण २०८३ १३:५८ बिहीबार





