नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफूलाई परिवर्तन र परिस्थितिअनुसार निर्णय लिन सक्ने ‘क्रमभंग गर्ने’ नेताका रूपमा प्रस्तुत गरेका छन्।
स्वर्गीय मदन भण्डारी को स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले समाज र राजनीतिक वृत्तमा आफ्नो भूमिकालाई विभिन्न कोणबाट हेरिने गरेको उल्लेख गरे। ‘क्रमभंग’ भन्ने शब्दलाई कतिपयले नकारात्मक रूपमा बुझ्ने गरे पनि प्रकृति, समाज र मानव विकासकै आधारभूत नियम निरन्तरताभित्र परिवर्तन रहेको उनको तर्क थियो।
उनले एउटै सोच र अवस्थामै अडिरहनु राजनीतिक रूपमा निष्क्रिय हुनुजस्तै भएको उल्लेख गर्दै समय र परिस्थितिअनुसार विचार तथा कार्यदिशा परिवर्तन गर्न सक्नुपर्ने धारणा राखे। पुरानै राजनीतिक नारामा सीमित रहँदा त्यसले नयाँ गन्तव्य नदिने उनको भनाइ थियो।
प्रचण्डले आफूलाई परिवर्तनको बहाव बुझ्ने नेताका रूपमा व्याख्या गर्दै सशस्त्र जनयुद्धबाट शान्ति प्रक्रियासम्म पुग्ने राजनीतिक यात्रामा आफ्नो निर्णायक भूमिका रहेको दाबी गरे। उनका अनुसार परिस्थिति अनुसार आफूलाई परिमार्जन गर्ने क्षमता नदेखाएको भए आफू र आफ्नो राजनीतिक धार अझै पुरानै संरचनामा सीमित रहने थियो।
उनले अहिले पनि सहकार्य र राजनीतिक एकताको नयाँ चरणतर्फ अघि बढ्न आवश्यक रहेको संकेत गर्दै बदलिँदो यथार्थसँगै नेतृत्व र आन्दोलन दुवै रूपान्तरण हुनुपर्नेमा जोड दिए।
प्रकाशित: १४ असार २०८३ १६:२६ आइतबार





