२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

देउवालाई प्रचण्डको चेतावनी : हिन्दू धर्मको लाइन समाते आफैं सकिनुहुन्छ, देश दुर्घटनामा पर्छ

फाइल।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई धर्मनिरपेक्षता छाडेर हिन्दू धर्मको एजेन्डा नबोक्न चेतावनी दिएका छन्।

आफैंले बनाएको संविधानविपरीत हिँडे देउवा स्वयं सकिने र देश दुर्घटनामा फस्ने उनको जिकिर छ।

मंगलबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवालाई संविधानको मर्मविपरीत नजान सुझाए।

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा देउवाले आफू हिन्दू भएको भनी दिएको अभिव्यक्तिले धर्मनिरपेक्षताबाट पछि हटेको संकेत गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन्।

‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैं सकिनुहुन्छ, देश पनि दुर्घटनामा पर्छ,’ देउवातर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘आफैंले बनाएको संविधानविपरीत कुनै पनि निर्णय र अभिव्यक्ति नदिनुहोला।’

प्रशिक्षणका क्रममा प्रचण्डले वर्तमान सरकार संविधान, लोकतन्त्र र व्यवस्थाविरुद्ध लागिपरेको आरोपसमेत लगाए। बालेनको नेतृत्वमा सरकार बनेपछि देशमा बेथिति र भ्रष्टाचार मौलाएको तथा मिडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर आक्रमण भइरहेको उनको दाबी थियो।

सरकारका गलत कदमका विरुद्ध खबरदारी गर्नुपर्ने भन्दै संयोजक प्रचण्डले आवश्यक परे सडक आन्दोलनमा उत्रिन तयार रहन पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए।

प्रकाशित: २ भाद्र २०८३ २१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App