१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताए।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे।

राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित गर्न कठिन हुने र उपभोक्ताले तोकिएअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्ने अवस्था रहनु गम्भीर विषय भएको उनको भनाइ थियो।

सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर नागरिकलाई डिजिटल प्रविधिसँग जोड्ने अभियान अघि बढाइरहेको उल्लेख गर्दै उनले त्यसका लागि भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा अनिवार्य रहेको बताए।

‘जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन। गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने।

उनले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र केन्द्रमा राख्न नहुने बताउँदै अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

गुणस्तरीय सेवा प्रदान गरेर मात्र व्यवसायबाट नाफा आर्जन गर्ने व्यावसायिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति स्थापित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी हुनुपर्ने बताए।

‘जबसम्म जवाफदेही नहुँदा त्यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म वास्तविक जवाफदेहिता स्थापित हुँदैन। अनुरोधले मात्र काम गर्दैन, केही पत्राचार र निर्देशनले पनि पुग्दैन,’ उनले भने।

नियामक निकायलाई आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नुपर्ने बताए।

नियामक निकायले कारबाही गर्ने अधिकार मात्र नभई कानुन कार्यान्वयन गराउने दायित्वसमेत वहन गर्नुपर्ने उनको भनाइ थियो।

‘नियामकसँग गलत गर्नेहरूलाई कारबाही गर्ने अधिकार मात्रै होइन, दायित्व पनि नियामकको हो। नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ र सेवा प्रदायकहरूले कानुनविपरीत काम गर्दा नियामकको कारबाहीको डर महसुस गर्नुपर्छ,’ उनले भने।

सेवा प्रदायकले अनुमतिपत्र प्राप्त गर्दा स्वीकार गरेका सर्त र प्रतिबद्धता अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै उनले कानुन र नियामकको निर्देशनलाई बेवास्ता गरेर व्यावसायिक गतिविधि सञ्चालन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।

दूरसञ्चार क्षेत्रमा वर्षौँदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरे।

‘वर्षौँदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ किन बुझाइएनरु समस्या थिए भने समयमै किन सम्बोधन गरिएन?समाधानका उपाय किन खोजिएनन्? अनुमतिपत्रको अवधि समाप्त हुने, ग्राहक थपिँदै जाने, आम्दानी भइरहने तर राज्यलाई तिर्नुपर्ने दायित्व पूरा नगर्ने अवस्था कसरी स्वीकार्य हुन सक्छ?’ उनले प्रश्न गरे।

कुनै कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्ने उल्लेख गर्दै उनले दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति उचित नभएको बताए।

सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उनले समग्र दूरसञ्चार क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हित सरकारको प्राथमिकता भएको बताए।

प्रकाशित: १० मंसिर २०८३ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App