नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी ‘भ्रष्टाचार नगर्ने पार्टी’ भएको दाबी गरेका छन्। माओवादीकै उत्तराधिकारीका रूपमा जेन–जीले भ्रष्टाचारविरुद्ध आवाज उठाएको पनि दाहालले दाबी गरे। आइतबार गोरखामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन्।
‘जेन–जी हाम्रा उत्तराधिकारी हुन्। हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौं,’ दाहालले भने, ‘यही मुद्दा जेन–जी आन्दोलनले उठायो।’
जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएको उनले बताए। उनले भने, ‘अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।’ जेन–जीहरूले अहिले माओवादीलाई आफ्नो अभिभावक मानिरहेको पनि दाहालले दाबी गरे। ‘जेन–जी युवाहरूसँग छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ,’ उनले भने।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा भएको दाहालले पुनः दाबी पनि गरे। ‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकार हो। त्यसमा हामीले पनि समर्थन जनाएका थियौं,’ दाहालले भने। तर आफ्नो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गर्ने रहेको उनले उल्लेख गरे।
दाहालले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह पनि गरे।
प्रकाशित: ९ कार्तिक २०८२ १५:४५ आइतबार





