२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

झलनाथतर्फ इंगित गर्दै प्रचण्डले भने: पार्टीभित्र भ्रम र निराशा फैलाउने प्रयास हुँदैछ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नीति र नेतृत्व कमजोर बनाउने उद्देश्यसहित केही गतिविधि भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण अभियानको शुभारम्भ गर्दै उनले पार्टीभित्र निराशा र भ्रम फैलाउने प्रयास भइरहेको बताए ।  

बरिष्ठ नेता झलनाथ खनालको ३६ बुँदे आरोपपत्र इंगीत प्रचण्डको असन्तुष्टि भए पनि उनले प्रत्यक्ष रूपमा कसैको नाम भने उल्लेख गरेनन् ।  

प्रचण्डले पार्टीभित्रका केही व्यक्तिहरू जानेर वा नजानेर साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिको योजनालाई सहयोग पुग्ने गरी गतिविधि गरिरहेको बताए । यस्ता गतिविधिले पार्टी एकता र वामपन्थी आन्दोलनलाई कमजोर बनाउने उनको भनाइ छ ।  

उनले भने, ‘कतिपय मानिसबाट पार्टी नीति र नेतृत्व कमजोर पार्ने षड्यन्त्र भइरहेको छ। जानेर वा नजानेर हाम्रा केही साथीहरू निराशा बाँड्ने र भ्रम सिर्जना गर्ने काममा लाग्नुभएको छ।’

अहिले विभाजन र अविश्वासको समय नभई फेरि एकपटक वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको प्रचण्डको भनाइ छ । सहकार्य र एकताका लागि एमाले, कांग्रेस, जसपा नेपाललगायत विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टीभित्रका विषय समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  

यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रचण्ड र माधव नेपालले पार्टीको नेतृत्व प्रभावकारी रूपमा गर्न नसकेको आरोपसहित ३६ बुँदे आरोपपत्र बुझाएका थिए ।

प्रकाशित: ५ असार २०८३ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App