९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

यूएन महासभामा प्रधानमन्त्री शाह : जलवायु संकटले सीमा चिन्दैन

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिमबारे विश्वको ध्यानाकर्षण गराएका छन्।

महासभालाई सम्बोधन गर्दै शाहले चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको ठूलो बाढीले सडक, पुल, विद्यालय, घर तथा जनजीवनमा गम्भीर असर पारेको बताए। उनले भोटेकोशी-त्रिशूली क्षेत्रमा भएको विपद् नेपालमा मात्र सीमित विषय नभएको बताउँदै यसलाई विश्वका लागि चेतावनीका रूपमा लिनुपर्ने बताए।

शाहले हिमाली क्षेत्रमा हिउँ पग्लिनु, जमिन कमजोर हुनु तथा हिमताल र नदीमा पानीको बहाव बढ्नुले बाढी, पहिरोजस्ता जोखिम बढाइरहेको बताए। यस्ता प्राकृतिक घटनाले नेपाल र चीनको सीमासहित भारतसम्म असर पुर्‍याएको भन्दै उनले जलवायु परिवर्तनले सीमा नचिन्ने बताए।

उनले जलवायु संकटमा नेपालको योगदान निकै न्यून भए पनि यसको असर भने ठूलो रूपमा भोग्नुपरेको बताए। ‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको ठूलो मूल्य चुकाइरहेका छौँ,’ शाहले भने।

नेपालको पुनर्निर्माण र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउँदै उनले भारत, चीन, संयुक्त राष्ट्रसंघ, मानवीय संस्थालगायत सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

शाहले जलवायु परिवर्तनलाई अर्को भू-राजनीतिक विवादको विषय बनाउनुभन्दा साझा जिम्मेवारी र सहकार्यका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिए।

प्रकाशित: ९ आश्विन २०८३ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App