२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा कर्णालीमा जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाप्रति सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा कर्णालीमा नागरिक डुब्नुपरेको भन्दै आलोचना गरे।

‘आज म बोल्न उठेको छैन, पीडा बोलेको छ। कर्णालीको करुण चित्कार यो संसद्‌मा गुन्जिएको छ। उद्धारका लागि गुहार मागिरहेका नागरिकको डाकोले नदीको किनार थर्कियो। डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो। स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो’, शाहीले भने,‘ त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो। तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो।’

उनले कर्णाली नेपालमा हो कि भन्दै सरकारलाई प्रश्न गरे। उनले हेलिकप्टर आकाशमा घुम्दै गर्दा सरकारसँग एउटा हेलिकप्टर पठाउने क्षमता नभएको भन्दै दुख व्यक्त गरे।

‘यता प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए’, उनले भने,‘ ‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा, कर्णालीमा नागरिक डुब्दै गर्दाखेरि उद्धार गर्न नहुने ? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन्?यसको जवाफ आज दिनुपर्छ।’

प्रकाशित: २२ असार २०८३ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App