नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा नयाँ भनिएर आएका शक्तिहरूले आफ्नो वास्तविक क्षमता र हैसियत प्रदर्शन गरिसकेको टिप्पणी गरेका छन्।
बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ भनिएका पात्रहरूबाट मुलुकको विकास सम्भव नरहेको दाबी गरेका हुन्।
‘अहिले नयाँ कि पुरानो भन्ने बहस गर्ने गरिन्छ। तर, आम मतदाताले देखिसक्नुभएको छ, नयाँ भनिएका धेरै पात्रहरूले स्थानीय वा संघीय सरकारमा बसेर आफ्नो क्षमता र हैसियत देखाइसकेका छन्।’ ओलीले भने।
उनले नयाँ शक्तिहरूको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनीहरूले जनतालाई डेलिभरी दिन नसकेको आरोप लगाए।
ओलीले एमाले कुरामा भन्दा पनि काममा विश्वास गर्ने शक्ति भएको बताउँदै एमालेसँग विगतका कामका स्पष्ट अभिलेखहरू रहेको उल्लेख गरे।
‘हामीसँग आन्दोलनमा मात्रै होइन, नीति, सुशासन र विकास निर्माणमा पनि कामका रेकर्डहरू छन्,’ उनले भने, ‘लक्ष्य र समय सीमा तोकेर काम सुरु गर्ने र त्यसलाई सफलतापूर्वक पूरा गर्ने कार्यशैली एमालेसँग मात्र छ।’
अध्यक्ष ओलीले अबको मुख्य जिम्मेवारी भत्किएका संरचनाको पुनर्निर्माण र निजी क्षेत्रको मनोबल उकास्नु रहेको सुनाए।
‘हामीले सिंहदरबार, अदालत र संसद् भवन जस्ता संरचनाहरूको पुनर्निर्माण गर्नुछ,’ उनले सुनाए, ‘निजी क्षेत्रको खस्किएको मनोबल उठाउँदै अर्थतन्त्रप्रति जनताको भरोसा फर्काउनु आजको प्रमुख आवश्यकता हो।’
प्रकाशित: ७ फाल्गुन २०८२ १५:०८ बिहीबार





