केन्द्रीय राज्यसत्ताबाट उपेक्षामा परेको मनोविज्ञान बोकेको सुदूरपश्चिममा संविधानसभाबाट संविधान निर्माण प्रक्रियासँगै ठुलो आन्दोलन चर्कियो। आन्दोलनले अखण्ड सुदूरपश्चिम पक्षधर र थारुवान/थरुहट पक्षधरको परस्परविपरीत मागसहितको आन्दोलनले पुस्तौंदेखि मिलेर बसेका समुदायबिचको सामाजिक र जातीय सद्भावको जग नराम्ररी हल्लाइदियो।
आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा एक बालक र आठ प्रहरीको ज्यान जाने गरी हिंसा भड्कियो। त्यो घटनापछि बिग्रिएको सामाजिक सद्भाव सम्हाल्न हम्मेहम्मे नै पर्यो। जिल्ला प्रशासन कार्यालय कैलालीले परिस्थिति साम्य पार्न एक महिनाभन्दा बढी कर्फ्यु लगायो। थारू समुदायका अगुवा, नागरिक समाजका अगुवा, अधिकारकर्मी, शिक्षक, व्यापारी, राजनीतिक दललगायतले सामाजिक सद्भावका लागि भरपूर प्रयत्न गरे।
संविधान निर्माण प्रक्रियासँगै सुदूरपश्चिममा परस्परविरोधी मागसहित चर्केको आन्दोलन २०७२ असोज ३ गते संविधान जारीसँगै सेलाउन पुग्यो। संविधान जारी भएपछि कुनै पनि प्रदर्शन र आन्दोलन भएनन्। देशले १२औं संविधान दिवस मनाइरहँदासम्म सुदूरपश्चिम शान्त छ, कुनै असन्तुष्टि र आक्रोशका स्वर सुनिएका छैनन्। परस्परविरोधी पहिचानको माग राखेर भएका आन्दोलनबिच टीकापुर घटना भएपछि बिथोलिएको सामाजिक सद्भाव पनि लयमा फर्कन थालेको छ।
टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. नाथुराम चौधरी संविधान निर्माण प्रक्रियाका क्रममा पहिचानका लागि दुवै पक्षले आन्दोलन गर्दा समस्या देखिए पनि संविधान जारीपछि सुदूरपश्चिम शान्त रहेको बताउँछन्। ‘संविधान बन्नुअघि थारुवान पक्ष र अखण्ड सुदूरपश्चिम पक्षधर दुवैले आफ्नो पहिचानका लागि आन्दोलन गर्दा समस्या देखियो,’ चौधरीले भने, ‘संविधान जारीपछि विस्तारै शान्त बन्यो।’
संविधान जारी भएपछिका ११ वर्षमा कैलालीलगायत सुदूरपश्चिममा संविधानप्रतिको असन्तुष्टिलाई लिएर कुनै विरोध प्रदर्शन, आन्दोलन वा अशान्ति नभएको उनी बताउँछन्। संविधानको मूल्यमान्यता र मर्मअनुसार काम नभएका कारण मात्र असन्तुष्टि र आक्रोश बढेर गत वर्षको भदौमा जेनजी आन्दोलन भएको उनको भनाइ छ।
‘संविधानमा उल्लिखित मौलिक हकअनुसारका आवश्यकता पूरा भएनन्। संविधानको मर्मअनुसार काम नहुँदा वितृष्णा र आक्रोश देखियो,’ उनले भने, ‘त्यही वितृष्णा र आक्रोशका कारण जेनजी आन्दोलन भएको हो।’
उनका अनुसार जेनजी आन्दोलनमा संविधानप्रति असन्तुष्टि प्रकट नभएको उनको भनाइ छ। संविधान जारीपछिको प्रारम्भिक चरणमा टीकापुर घटनाका कारण समाजमा समस्या देखिएको उनी बताउँछन्। ‘टीकापुर घटनापछि बाहिर सद्भाव देखिए पनि एक–दुई वर्षसम्म भित्री रूपमा तिक्तता थियो,’ उनले भने, ‘बिस्तारै सामाजिक सद्भाव कायम हुँदै गएको छ।’
सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार तथा प्राध्यापक डा. हेमराज पन्त संविधान निर्माणका क्रममा देखिएको अशान्ति संविधान जारीपछि अन्त्य भएको बताउँछन्।
सुदूरपश्चिमका बासिन्दा शान्तिप्रिय प्रकृतिका रहेको उनको भनाइ छ। ‘पहाड, तराई सबै मिलेर बसेको ठाउँ थियो। मिलेर बसेको समाजलाई भाँड्न खोजिएको थियो,’ पन्तले भने, ‘संविधान निर्माणपछि सबै शान्त भएर गयो, कुनै असन्तुष्टि देखिएन।’
प्रदेश पुनर्संरचना हुनुपर्छ
प्रदेश संरचना सोचविचार नगरी बनाइएको डा. पन्त बताउँछन्। सुदूरपश्चिमको पहाड, हिमाल र तराईको भूगोल मिलेर दुई देशसँग सीमा जोडिएको प्रदेशको भूगोल ठिक रहे पनि देशभर प्रदेश संख्या बढी भएको उनको भनाइ छ। संविधान संशोधन गरेर छिटोछरितो प्रदेश संरचना बनाउनुपर्ने उनको राय छ। ‘प्रदेशको संख्या घटाएर पाँच बनाउनुपर्छ,’ उनले भने, ‘फेरि हिजोको विकास क्षेत्रअनुसार हुनुपर्छ भनेको होइन।’
राजनीतिक व्यक्तिहरूलाई केन्द्रमा राखेर व्यवस्थापन गर्न आवश्यकताभन्दा बढी संरचना र पद संख्या बनाइएको उनी बताउँछन्। ‘भारतमा उपराष्ट्रपति राज्यसभाको अध्यक्ष हुन्छ। नेपाल जस्तो गरिब र सानो देशमा बढी खर्च हुने गरी प्रदेश संरचना बनाइयो,’ उनले भने।
पहिचान र सामथ्र्यका आधारमा प्रदेश संरचना बनाइनुपर्ने उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशको नाम पनि बदल्नुपर्ने उनको राय छ। हिजो पश्चिमाञ्चल भएकाले सुदूर भनिएको उनको तर्क छ। ‘हिमाल, पहाड र तराईको भूवनोटमा दुवै देशसँग जोडिएको सुदूरपश्चिमको भूगोल ठिक छ। नाम र राजधानी बदल्नुपर्छ, राजधानी पनि पहाडमा हुनुपर्छ,’ उनले भने।
प्रत्यक्ष तथा समानुपातिक सांसदको संख्या पनि घटाइनुपर्ने उनको भनाइ छ। ‘दलित, गरिब र सीमान्तकृत वर्गको समानुपातिक सहभागिता हुनुपर्यो। अहिले विशेष अवस्थामा बनेको सरकार भएकाले बहुमत पुगेको हो। तर सामान्य अवस्थामा बहुमत पनि नपुग्ने शासकीय प्रणाली बदल्नुपर्छ।’
लयमा फर्कंदै सद्भाव
‘नहुनुपर्ने थियो टीकापुर घटना। टीकापुर घटनाको घाउ पुरिन अझै समय लाग्छ,’ टीकापुर बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक रामबहादुर चौधरी भन्छन्, ‘टीकापुर घटनाले बिथोलिएको सामाजिक सद्भाव विस्तारै लयमा फर्किरहेको छ।’
संविधान निर्माणपछि कैलाली लगायत सुदूरपश्चिमका सडकमा कुनै विरोध प्रदर्शन र आन्दोलन नभएको उनी बताउँछन्। वर्षौंदेखि मिलेर बसेको समाजमा आफैंमा मारकाट हुने स्थिति हुनुहुँदैन भनेर नै संविधान बनेपछि टीकापुर घटनाअघि जस्तो प्रदर्शन र आन्दोलन नभएको उनी बताउँछन्। ‘मिलेर बसेको समाजमा टीकापुर घटनाले धेरै असर देखियो। यो सामाजिक द्वन्द्वको घाउ पुरिँदै गइरहेको छ,’ उनले भने।
कैलाली र कञ्चनपुरमा थारु समुदाय र पहाडी समुदायबिच अन्तरजातीय विवाहसमेत भएर समाजमा अन्तरघुलन र सामाजिक सद्भाव थियो। ‘टीकापुर घटनापछिका केही वर्षसम्म सद्भावमा असर देखिए पनि अहिले पुनः अन्तरजातीय विवाहसमेत हुन थालेका छन्,’ उनले भने, ‘मेरै छोरीको पनि अन्तरजातीय विवाह भयो। यसले सामाजिक सद्भाव लयमा फर्किंदै गएको देखाउँछ।’
‘संविधान जारी भएको ११ वर्षसम्म कैलालीसहित सिंगो सुदूरपश्चिम शान्त रह्यो,’ उनले भने, ‘आपसमै मारकाट हुनुपर्ने अवस्था नआओस्, शान्ति होस् भन्ने सबैको चाहनाले काम गरेको हो।’ संविधान भने संशोधन हुनुपर्ने उनको राय छ।
प्रकाशित: ३ आश्विन २०८३ ०७:१७ शनिबार





