भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन प्रजातान्त्रिक प्रणाली भएको हुँदा निर्वाचनमा जान राजनीतिक दलहरू जुनसुकै बेला तयार हुनुपर्ने धारणा राखेका छन्। सेवा निवृत्त शिक्षक समाज भक्तपुरको पूर्णाङ्क १७ ‘शैक्षिक अनुभव’ विमोचन तथा भक्तपुर जिल्लाव्यापी माविस्तरीय निबन्ध लेखन प्रतियोगिताको बिहीबार भक्तपुरमा भएको पुरस्कार वितरण कार्यक्रममा उनले वर्तमान सरकारले निर्वाचनमा केन्द्रित रहेर काम गर्नुपर्नेमा जोड दिए।
फरक प्रशंगमा उनले जेनजी आन्दोलनले देशलाई अनिर्णयको बन्दी बनाएको बताए। विचार र सिद्धान्तबिनाको आधारमा हुने कुनै पनि परिवर्तन लामो समय टिक्न नसक्ने उनको भनाइ छ। शासक दलहरूको शोषण, भ्रष्टाचार र अत्याचारको विरोधमा जेन्जी आन्दोलन भएको उनले सुनाए। त्यसकारण वर्तमान सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए।
विदेशमा होइन स्वदेशमै सबै शिक्षित हुने बन्दोबस्त हुनुपर्ने बताउँदै उनले निःशुल्क र अनिवार्य शिक्षा केबल नारामा होइन, व्यवहारमा लागू हुनुपर्छ भने। शिक्षा उत्पादनमुखी र सीपमूलक हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्नुपर्ने र मुलुकलाई आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता भएको उनले बताए।
समाजले हालसम्म १७ वटा शैक्षिक अनुभव अंक प्रकाशन गरिसकेको जानकारी कार्यक्रममा बताइयो। वर्षमा नयाँंवर्ष र दसैंमा गरी दुई पटक शैक्षिक अनुभव प्रकाशित गर्दै आएको कार्यक्रममा जनाइयो। शैक्षिक अनुभवमा सेवा निवृत शिक्षकहरूको सेवा गर्दाको अनुभवहरूको सँगालो हुने कार्यक्रममा जानकारी गराइयो।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले समाजको आयोजनामा सम्पन्न भक्तपुर जिल्लाव्यापी माविस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण पनि गरेका थिए।
प्रकाशित: ३० आश्विन २०८२ १८:१८ बिहीबार





