२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रदेश सरकार गठनमा एमाले–नेकपा बाहेकका दल पनि सक्रिय, कांग्रेसले सबैसँग छलफल गर्ने

नेपाली कांग्रेसले नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच विकसित नयाँ राजनीतिक समीकरणपछि प्रदेश सरकारहरूको अवस्थाबारे सातै प्रदेशका नेतृत्वसँग छलफल गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा सातै प्रदेशका सभापति, संसदीय दलका नेता तथा मुख्यमन्त्रीसँग परामर्श बैठक बसेको हो।

बैठकमा प्रदेश सरकारको वर्तमान राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा आवश्यकताअनुसार अन्य दलहरूसँग सहकार्य गर्ने सम्भावनाबारे व्यापक छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिए। उनका अनुसार प्रत्येक प्रदेशको राजनीतिक अंकगणित र दलहरूको अवस्थाअनुसार सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा कांग्रेसले अलग–अलग रणनीति तय गर्नेछ।

एमाले र नेकपाबीचको नयाँ सहमतिपछि प्रदेशको राजनीतिक समीकरणमा परिवर्तन आएको भन्दै कांग्रेसले पनि एमाले र नेकपाबाहेकका लोकतान्त्रिक प्रक्रियामा सहभागी दलहरूसँग संवाद र सहकार्यको सम्भावनालाई प्राथमिकतामा राखेको जनाएको छ।

विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशमा एमाले–नेकपा गठबन्धनले मात्रै स्पष्ट बहुमत जुटाउन नसक्ने अवस्था रहेकाले अन्य दलहरूसमेत नयाँ सत्ता समीकरण निर्माणका लागि सक्रिय देखिएका छन्।  

मुख्यमन्त्री बानियाँले संघीयता र लोकतान्त्रिक मूल्य–मान्यतालाई स्वीकार गर्दै निर्वाचनमार्फत प्रदेश संरचनामा पुगेका दलहरूसँग आवश्यकताअनुसार सहकार्य गरेर अघि बढ्ने वा प्रदेशको परिस्थितिअनुसार प्रतिपक्षको भूमिका निर्वाह गर्ने विषयमा बैठक केन्द्रित रहेको बताए।  

उनका अनुसार एमाले–नेकपा सहमतिपछि बनेको नयाँ राजनीतिक परिवेशलाई ध्यानमा राख्दै कांग्रेसले आगामी रणनीति तय गर्न प्रदेश नेतृत्वसँग विस्तृत परामर्श गरेको हो।

प्रकाशित: १० श्रावण २०८३ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App