राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले विपद्पछिको अवस्था अध्ययन, समन्वय तथा अनुगमनका लागि संसदीय समिति गठन गर्न राजनीतिक दलहरू तयार रहेको बताएका छन्।
आज बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले संसदीय समिति गठनका लागि सभामुखसमक्ष अनुरोध गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार सर्वदलीय राजनीतिक संयन्त्रले पनि संसद्बाट समिति गठनका लागि पहल गर्नेछ।
‘सबैभन्दा पहिला सम्माननीय सभामुखज्यूलाई अनुरोध गर्ने र सम्मानित संसद्समक्ष पनि सर्वदलीय राजनीतिक संयन्त्रले अनुरोध गर्ने निर्णय भएको छ,’ खरेलले भने, ‘ संसदबाट संसदीय समिति बनाउन राजनीतिक दलहरू तयार हुनुहुन्छ र उहाँहरूको समर्थन तथा आग्रह आज व्यक्त भएको छ।’
खरेलले प्रस्तावित संसदीय समिति विगतमा गठन हुने गरेको जस्तो छानबिन समिति भने नहुने र समितिले विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा अध्ययन, समन्वय र अनुगमन गर्ने बताएका छन् ।
‘यो संसदीय समितिको काम छानबिन भनेर होइन। पहिलाका बनेका जस्ता संसदीय समिति होइनन्,’ उनले भने, ‘यसले अध्ययन गर्छ, समन्वय गर्छ र अनुगमन गर्छ। तीनै तहका सरकार, संसद्, राज्यका निकाय तथा सरोकारवालासँग संविधान र कानुन तथा आफ्नो जिम्मेवारीको परिधिभित्र रहेर काम गर्छ।’
समितिको कार्यादेश भने अझै बन्न बाँकी रहेको उनले बताए। टीओआर तयार भएपछि समितिको कामको दायरा थप स्पष्ट हुने उनको भनाइ छ।
‘अहिले नै यसको कामबारे अन्तिम रूपमा भन्न मिल्दैन। टीओआर बनाउन बाँकी छ,’ खरेलले भने, ‘तर यसको आशय अध्ययन गर्ने, समन्वय गर्ने, अनुगमन गर्ने र कहाँ–कहाँ कमजोरी भइरहेका छन् तथा के–के सुधार गर्नुपर्छ भनेर सुझाव दिने महत्वपूर्ण काम गर्ने भन्ने हो।’
प्रकाशित: ३१ भाद्र २०८३ १४:५३ बुधबार


-600x400.jpg)


