२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मतदानमा देखिएको सहभागिताले थप जिम्मेवार बनाएको छः गगन थापा

प्रतिनिधि सभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको दृढ निष्ठा र प्रतिबद्धता पुनः प्रमाणित भएको नेपाली कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्।

उनका अनुसार मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वास झल्काएको छ। साथै यसले राजनीतिक दलहरू र आगामी सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको पनि उल्लेख गरिएको छ।

विज्ञप्तिमा केही निर्वाचन क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताइएको छ। यसका लागि सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिइएको छ।

निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण सुरक्षा निकायप्रति पनि हार्दिक आभार र बधाई व्यक्त गरिएको छ।

त्यसैगरी निर्वाचन प्रक्रियामा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दलहरू, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App